www.tandavnews.com
Fact ~ In search of truth

सन्दर्भ विश्व रक्तदाता दिवस : सधैँ रगतको अभाव

चितवन।

मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ ।

सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भाैँतारिनुपर्ने अवस्था रहेको छ । वर्षभरि नै कुनै न कुनै रक्त समूहको रगत नपाउँदा आफन्तहरु रक्तदाता खोज्न बाध्य हुने गरेका छन् । वर्षभरिमा झन्डै पाँच हजार जनाले केन्द्रमा नै आएर रक्तदान गर्ने गरेको तथ्याङ्क छ । यी व्यक्तिहरु बिरामीका आफन्तको अनुरोधमा डाकिएका रक्तदाता हुन् ।

यहाँका अस्पतालमा २० हाराहारी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बिरामी र अन्य अस्पतालमा विशेषज्ञ सेवा लिनेहरुका लागि धेरै रगत आवश्यक हुने गर्दछ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले यहाँको क्यान्सर अस्पताल, भरतपुर अस्पताल, दुई मेडिकल कलेज र २० भन्दा बढी सानाठूला अस्पतालमा हुने शल्यक्रिया लगायतका उपचारमा ठूलो मात्रामा रगत माग हुने गरेको बताए । वर्षभरिमा ३५ हजार युनिट हाराहारी रगत केन्द्रले उपलब्ध गराउँदै आएको छ । पौडेलको भनाइमा ५० हजार युनिट हाराहारी रगतको आवश्यक यहाँ पर्दछ ।

अत्यावश्यक शल्यक्रियासमेत समयमा गर्न रगतका कारण कठिन हुने गरेको छ । पौडेलले केन्द्र सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटीले रक्तदाताका लागि उत्प्रेरणाका कार्यक्रम गर्न नसक्दा समस्या आएको बताए। रक्तदाता बढाउनका लागि नयाँ रणनीतिक कामहरु गर्न नसकेर पुरानै ढर्रामा सोसाइटी रहेको उनको भनाइ छ । सरकारी निकायसँगको समन्वयमा सोसाइटीले काम गर्न नसकेको उनको भनाइ थियो । केन्द्रले चितवनसहित छिमेकी जिल्लाबाट समेत सहकार्य गरेर रगत सङ्कलन गरिरहेको छ ।

नवलपरासी, गोरखा, लम्जुङ, तनहुँ, धादिङ, मकवानपुर, सर्लाही, रौतहट लगायतका जिल्ला पुगेर रगत सङ्कलन गर्ने गरिएको छ । वर्षभरमा ४०० हाराहारी रक्तदानका कार्यक्रम हुने गरेका छन् । ती कार्यक्रममा पहिले १००/१५० युनिट रगत सङ्कलन हुने गरेकामा आजभोलि ४०/५० युनिट सङ्कलन हुने गरेको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले रगत सङ्कलन कम हुँदै गएकाले समस्या हुने गरेको बताए।

सोसाइटीले रक्तदाता उत्प्रेरणाका कार्यक्रम गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो । रक्तदातालाई गरिने सम्मान कार्यक्रमसमेत कोभिडका कारण दुई वर्षदेखि हुन नसकेको उनको भनाइ छ । एक घरको एक जनाले रक्तदान गरेमा मात्र धेरै समस्या समाधान हुने भन्दै उनले यो जनचेतना जगाउनुपर्ने बताए । धेरै जिल्लाबाट यहाँ बिरामी आउने भएकाले ती जिल्लाहरुका सामाजिक सङ्घसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गरिदिएमा रगतको पूर्ति गराउन सहज हुने उनले बताए।

वडा तहबाटै प्रचारप्रसार आवश्यक रहेको न्यौपानेको भनाइ छ । वर्षभरि नै रगतको अभाव हुँदा झापा, पोखरा, भैरहवा लगायत ठाउँबाट रगत मगाएर मागको आपूर्ति गर्ने गरेको न्यौपानेले जानकारी दिए। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी समयमा नै योजना बनाउन नसकिएमा भविष्यमा रगतको ठूलो समस्या पर्ने बताए । आम नागरिकका बीचमा रगतको महत्वका बारेमा बुझाएर स्वयम्सेवीहरुको ठूलो समूह तयार गर्नुपर्ने उनको भनाइ छ ।

रक्तदाताहरुको सूची तयार गरी बोलाएर रगत लिने कार्यक्रमहरुलाई व्यापकता दिनुपर्ने उनले बताए । सामाजिक सेवा गर्ने सङ्घसंस्थाहरुले सामाजिक उत्तरदायित्व ठानेर वार्षिक कार्यक्रममा रक्तदान राख्नुपर्ने उनको भनाइ छ । यस्तै स्कुल, कलेजहरुले नियमीत रक्तदान कार्यक्रमसँगै साना विद्यार्थीहरुलाई रगतको महत्वका बारेमा बुझाउनुपर्ने अधिकारीले बताए । नागरिक तहसम्म रगतको महत्वका बारेमा बुझाएर उत्प्रेरणा नदिएसम्म रगतको अभाव घटाउन नसकिने उनको तर्क छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.