www.tandavnews.com
Fact ~ In search of truth

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

सुदूरपश्चिम।

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताएका छन्।

धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी प्रतिष्ठानसम्बन्धी विधेयक ल्याएर गेटा मेडिकल कलेज सञ्चालन गरिने बताए । उनले भने, “गेटा मेडिकल कलेज सञ्चालनको माग उठ्दा मलाई खुसी लागेको छ ।” गौरीफन्टा नाकामार्फत् व्यापारलाई सहज बनाउन पहल गरिने प्रधानमन्त्री देउवाले बताए ।

नेपाल–भारत सीमा भइ बग्ने मोहना नदीले दुवै देशको भूमि कटान गर्ने गरेको उल्लेख गर्दै उनले कटान रोकथामका लागि पहल गरिने बताए। धनगढीलाई व्यवस्थित र सुन्दर नगरका रुपमा विकास गर्न जग्गा अतिक्रमण रोकथामका साथै वनजङ्गलको संरक्षण जरुरी भएको प्रधानमन्त्री देउवाको भनाइ थियो । नेपाल सङ्घीयतामा गएकाले विकासका गतिविधि स्थानीय तह र प्रदेशबीच समन्वय, सहकार्य गरी संयुक्तरुपमा अघि बढ्न जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे। जनताका काम छिटोछरितो ढङ्गले गर्नुपर्नेमा भोलि भोलि भनेर टार्ने प्रवृत्ति बढ्दै गएकामा उनले चिन्ता व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि प्रदेश सरकार स्थानीय पालिकासँग साझेदारी गर्न पछि नपर्ने बताए । उनले पश्चिम सेती जलविद्युत् परियोजना र प्रस्तावित गेटा मेडिकल कलेजलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउनका लागि पहल हुन जरुरी रहेको बताए।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरपालिकाले पाँचवर्षे कार्ययोजना अघि बढाएको जानकारी दिए। उनले भने, “सुदूरपश्चिमको प्रवेशद्वार धनगढीको विकास र समृद्धिका लागि प्रदेश र सङ्घीय सरकार विकासका काममा साझेदार बन्न आवश्यक छु ।” नेपाल सरकार र उपमहानगरपालिकाको रु सात करोड २३ लाख ४५ हजारको लागतमा नयाँ भवन निर्माण भएको हो । पाँचतले उक्त भवनमा ३५ कोठा रहेका छन् ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.