www.tandavnews.com
Fact ~ In search of truth

मकै उत्पादनमा आत्मनिर्भर बन्दै म्याग्दी

गलेश्वर।

म्याग्दीको फाँटैभरि यतिबेला मकैबाली झुलिरहेको छ । रासायनिक मल अभाव र फौजी किराको प्रकोप देखिएपछि उत्पादन राम्रो हुँदैन कि भनेर चिन्तित बनेका किसान समयमै पानी परेकाले मकैबाली सप्रिदा दङ्ग छन् ।

पाँच वर्षयता म्याग्दी मकै उत्पादनमा आत्मनिर्भर बन्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक उपभोग गर्नेबाहेक बीउका लागि यहाँ फलेको मकै बाहिरी जिल्लामा समेत बिक्रीवितरण गर्न थालिएको छ । लेकदेखि बेँसीसम्मका अधिकांश जमिनमा मकै खेती हुन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ११ हजार हेक्टर जमिनमा वार्षिक ३७ हजार ८१७ टन मकै उत्पादन हुन्छ । यहाँ उत्पादन भएको करिब २५ टन मकैको बीउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लालगायत जिल्लासम्म बिक्रीवितरण हुने गरेको छ ।

कृषि प्राविधिक जगत बानियाँ बीउ मकै उत्पादन गरी बाहिरी जिल्ला पठाउने गरिएको बताए । सिँचाइ, फौजीकिरा नियन्त्रण र आवश्यक मलको प्रबन्ध गर्नसके कृषकले मकैबाट पर्याप्त आम्दानी गर्न सक्ने उनको भनाइ छ । जिल्लामा पपकन सेतो र पपकन पहेंलो जातका मकै १५० हेक्टरमा लगाउने गरिएको छ ।

जिल्लाको एक हजार ६०० मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना १, ३, देउती, सितला तथा उपल्लो क्षेत्रमा अरुण १, २, हिलपुल सेतो र स्थानीय जातको मकैखेती गरिन्छ । रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार र बाबियाचौर क्षेत्रमा मकै खेती बढी गरिन्छ । पछिल्लो समय हरियो मकै बिक्री गरी आम्दानी गर्ने क्रम बढ्दै गएको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.