www.tandavnews.com
Fact ~ In search of truth

सरकार निर्वाचन गराउन प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सफतापूर्वक सम्पन्न भएको र आगामी निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

“संविधानसभाबाट संविधान जारी गरेपछि मुलुक सङ्घीय लोकतान्त्रिक व्यवस्थाबाट अघि बढिरहेको छ”, प्रधानमन्त्री देउवाले भने, “स्थानीय तहको निर्वाचन भयरहित, स्वच्छ वातावरणमा सम्पन्न भएको छ, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।” दिगो शान्ति र सुशासन कायम गर्नेतर्फ मुलुक अगाडि बढिरहेको बताउँदै उनले देशलाई विकसित बनाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री देउवाले पूर्व सांसद मञ्चले दलीय राजनीति भन्दामाथि उठेर काम गरिरहेको र सरकारलाई समयसमयमा महत्वपूर्ण सल्लाह दिने गरेकोप्रति कृतज्ञता व्यक्त गरे। प्रधानमन्त्री देउवाले जनताबाट निर्वाचित जनप्रतिनिधि रहेको संसद्ले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले संसद् राष्ट्रको आवाज बोल्ने र देशलाई ठीक ढङ्गले अगुवाइ गर्ने थलोका रुपमा विकास भइरहेको बताए। उनले सरकार र दलहरूले राम्रोसँग भूमिका निर्वाह गर्न नसकेकाले जनताले निर्दलीय व्यक्तिलाई मत दिएर जिताउने गरेको र देशलाई ठीक ढङ्गले अगुवाइ गर्न नसक्दा फरक परिणाम आउने अवस्था सिर्जना भएको तर्क गरे।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद् सोचेअनुरुप क्रियाशील हुन नसक्दा २०७५ सालदेखि ५३ वटा विधेयक र आठवटा अध्यादेश संसद्मा रहेको बताए। उनले नागरिकताजस्तो राष्ट्रिय महत्वको विषयलाई सहमतिबाटै टुङ्ग्याउनुपर्नेमा जोड दिए। पूर्व सभामुख रामचन्द्र पौडेलले जनताको आवाजलाई मुखरित गर्ने र निरङ्कुशताको विरुद्ध लड्ने संसद् सधैँ क्रियाशील हुनुपर्ने बताए।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पूर्व सांसद मञ्चले संसद्ले गरेका वार्षिक कामको अध्ययन गरेर थप क्रियाशील बनाउनुपर्ने सुझावसमेत दिए। मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले २०१६ साल असार १६ गते तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले निर्वाचत संसद्को पहिलो बैठक बसेको र त्यही दिवसका अवसरमा प्रत्येक वर्ष यो दिवस मनाउन लागेको जानकारी दिए ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.