www.tandavnews.com
Fact ~ In search of truth

महिलामाथि बढ्दै गएको हिंसा रोक्न कानुन बनाउनु परेको हो : गृहमन्त्री खाण

काठमाडौँ।

राष्ट्रियसभाको आजको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका छन् ।

उक्त विधेयकका विषयमा गृहमन्त्री खाणले महिला र बालबालिकामाथि हिंसा बढ्दै गएकाले कारबाही र नियमन गर्नका लागि यो बनाउनुपरेको बताए। “यस्ता पद्धार्थको उत्पादन, निकासी पैठारी, प्रयोगलाई कसरी नियन्त्रण र विस्थापन गर्ने भन्ने प्रयोजनका लागि यो ऐन ल्याउन लागिएको हो”, उनले भने, “तेजाबका कारण महिलाहिंसाका घटना हृदयविदारक छन्, उत्पादन गर्दा पनि व्यवस्थितरुपमा गर्नुपर्ने, आयात निर्यात गर्दा सुरक्षित बनाउन यो ऐन जरुरी भएको हो ।”

उनले भण्डारण गर्न, किन्न र बेच्न पनि सबैले नपाउने कानुन बनाउन लागिएको जानकारी दिँदै सहजरुपमा उपलब्ध हूँदा विकृति बढेको बताए ।

बैठकमा सांसदहरुले महिलामाथि तेजाब आक्रमणजस्ता गतिविधि हुने गरेकाले रोक्नका लागि यो ऐन बनाएर छिट्टै कार्यान्वयन गर्नुपर्ने धारणा राखे । राष्ट्रियसभाको अर्को बैठक यही असार २८ गते बिहान ११ बजे बस्नेछ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.