www.tandavnews.com
Fact ~ In search of truth

‘दुई सदनलाई विभेद नगरियोस्’

काठमाडौँ।

राष्ट्रियसभाका सांसद डा बेदुराम भुसालले संविधानले कल्पना गरेको दुई सदनात्मक संसदीय व्यवस्थाका दुई सदनलाई विभेद् नगर्न अनुरोध गरेका छन्।

सञ्चारमाध्यामले समाचार प्रकाशन प्रशारण गर्नेदेखि निर्णय र निर्देशन कार्यान्वयनमासमेत उपेक्षा गरिएको गुनासो गर्दै भुसालले प्रतिनिधिसभाले गरेका कमजोरी सच्याउने राष्ट्रियसभा भएकाले संविधानले दिएको अधिकार प्रयोग गर्नबाट रोकेर सभालाई उपेक्षा गर्ने कुरा स्वीकार गर्न नसकिने स्पष्ट पारे।

दुबै सदनको बैठक भएका बेला सञ्चारमाध्यामले पनि प्रतिनिधिसभाको मात्रै समाचार बजाउने गरेको आरोप लगाए। राष्ट्रियसभाको विशेष समयमा बोल्दै भुसालले राष्ट्रियसभाको उपाध्यक्षको पद किन पूर्ति नभएको भनी प्रश्न गरे ।

उनले भने, “प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुन लागेको छ तर यता ध्यान दिइएन, समितिका सभापति पद खाली छ त्यसमा पनि ध्यान गएको छैन, दलका नेता र सचेतकमा समेत कुनै ध्यान गएन ।”

नेपालको संविधानको धारा ८३ ले दुई सदनात्मक सङ्घीय संसद् हुने भनेर उल्लेख गरे पनि व्यवहारमा प्रतिनिधिसभा विशेष हो र राष्ट्रियसभा गौण हो भन्ने व्यवहार पाउने गरिएको उनले बताए । प्रतिनिधिसभामा २०७६ मा दर्ता भएको विधेयक यसै थन्क्याएर राखिएको र अहिले राष्ट्रियसभामा छिट्टै अघि बढाउन दबाब आइरहेको सन्दर्भ जोड्दै उनले यस्ता व्यवहार स्वीकार गर्न नसकिने बताए। नयाँ विधेयक छलफल नै नगरी लैजान नहुने तर्क उनको थियो ।

उनले महालेखाको प्रतिवेदनमा आर्थिक परिसूचक हेर्दा चिन्ता लाग्दो अवस्था रहेको र यो वर्ष मात्रै १५ दशमलव ४६ प्रतिशत बेरुजु बढेकाले मुलुकको सुशासन कता जाँदै छ भनेर सङ्केत गरिरहेको बताए। बेरुजु बढ्दै गएकाले मुलुक सुशासनभन्दा आर्थिक अराजकतातर्फ गइरहेको सङ्केत दिएकाले यस्ता विषयमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकता औँल्याए।

बाढीपहिरोको समस्या बढ्दो रहेको, महँगीले आकास छुनै लागेको र अहिलेसम्म पनि किसानले पर्याप्त मात्रामा मल पाउन नसकेको उनले बताए।

सांसद खिमलाल देवकोटाले संसद् सचिवालयसम्बन्धी ऐन २०६४ लाई तेस्रो अधिवेशनमा संशोधन गरिएको र त्यस विधेयकमा त्रुटी भएकाले संशोधन गर्न अनुरोध गरे। सङ्घीय संसद्को संयुक्त बैठकको सन्दर्भ जोड्दै उनले एउटा बैठकको अध्यक्ष सभामुख र अर्काे बैठकको अध्यक्ष राष्ट्रियसभाको अध्यक्षले गर्ने गरी संयुक्त बैठक कार्यसञ्चालन नियमावलीमा राख्न सकिँदैन ? भनी प्रश्न गरे। उनले संविधानले समेत राष्ट्रियसभालाई कमजोर बनाएको उल्लेख गरे।

सांसद डा. विमला राई पौडेलले राष्ट्रियसभाले पारित गरेर पठाएका १२ वटा विधेयक प्रतिनिधिसभामा अड्किएर बसेको गुनासो गरिन् । डा. पौडेलले ध्यानाकर्षण गराउँदै भनिन्, “प्रतिनिधिसभाले पठाएको विधेयक दुई महिनाभित्रमा केही नगरे अघि बढाउन पाउने तर राष्ट्रियसभाले पठाएको विधेयक वर्षैसम्म थन्क्याएर राख्दा पनि केही नगर्ने, यो सभामुखको काम होइन ।”

विधेयकमा राज्यको ठूलो रकम खर्च भइसकेकाले चुनाव अघि सबै विधेयक पारित गर्नुपर्देन भनेर प्रश्न गरिन्। उनले कानुन बनाउने ठाउँमा राष्ट्रियसभा कमजोर रहेको बताइन्।

बैठकमा सांसद विमला घिमिरेले भृकुटीमण्डपमा भएको आगलागीबाट अपाङ्ता भएका व्यक्तिलाई सेवा दिन अप्ठेरो हुनसक्ने भएकाले घटनाको छानबिन गरी ती सामग्रीमा कमी नहोस् भनी सरकारको ध्यानाकर्षण गराइन्।

सांसद नारायणदत्त मिश्रले नेपालको आर्थिक अवस्था अहिले बाहिर आएजस्तो कमजोर नरहेको बताए।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.