www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा आजदेखि ‘मेयर सम्मेलन’

कास्की ।

देशका छवटै महानगरका प्रमुखको भेला ‘मेयर सम्ेमलन’ आजदेखि पोखरामा सुरु हुुँदैछ । पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ ।

महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ । साउन १४ गतेसम्म सञ्चालन हुने सो सम्मेलनमा सहभागी ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र वीरगञ्ज महानगर प्रमुख राजेशमा सिंह बिहीबार साँझनै पोखरा आइपुगेका छन् । अन्य महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत आज बिहानसम्म आइपुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

Batas

सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिने प्रमुख आचार्यले बताए । महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको प्रमुख आचार्यले बताए । उनले भने, “गाउँपालिका र नगरपालिकाका समस्या सुनाउने छुट्टै फोरम भए पनि महानगरको आफ्नो छुट्टै फोरम नभएकाले साझा समस्या, चुनौती र अवसर पहिल्याउन सम्मेलन आयोजना गरेका हौँ । सम्मेलनले पोखरा घोषणापत्र जारी गर्छ । घोषणापत्र सम्बन्धित निकायमा सुझावका रुपमा पेश गर्नेछौँ ।”

सम्मेलनको कार्यतालिकामा पहिलो दिन पोखरा, काठमाडौँ, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौती’बारे धारणा राख्ने कार्यसूचीमा उल्लेख छ । त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले ‘सङ्घीयता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुती दिनेछन् ।

महानगरका उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान गर्ने बताइएको छ । प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौती’बारे आफ्नो धारणा सुनाउने कार्यसूची छ । सम्मेलनको दोस्रो दिन पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यले महानगरको साझा सवाल, पूर्वाधार विकास तथा सुशासन’सम्बन्धी प्रस्तुति राख्ने कार्यसूची छ । उनको प्रस्तुतिपछि सहभागीबीच महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता, सम्भावना र चुनौती’ तथा महानगरका साझा सवाल र आगामी कार्यदिशा विषयमा छलफल गर्ने कार्यसूची छ ।

–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.