www.tandavnews.com
Fact ~ In search of truth

भूमिहीनहरूले अव महानगरको ढोकामा आएर जिन्दाबाद र मुर्दावाद भन्नु पर्दैन : प्रमुख आचार्य

पोखरा।
पोखरा महानगरपालिका वडा नं. ९ का २५१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गरेका हुन्।
निस्सा वितरण गर्दै प्रमुख आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको निस्सा लालपुर्जा पाउनु अगाडीको लालपुर्जा नै भएको बताए। “यो सरकारी छाप लगाएको लालपुर्जा पाउनु अगाडीको लालपुर्जा नै हो, उनले भने, यो कागज नपाउनेले लालपुर्जा पाउदैन्, लालपुर्जा पाउनका लागि यो कागज नभई हुँदैन ।” उनले यसलाई लालपुर्जा जत्ति कै महत्त्व र सुरक्षाका साथ राख्न आग्रह गरे।
आफूहरू लालपुर्जा वितरणको प्रक्रियामा रहेको र छिट्टै वितरणको काम थालिने उनले बताए। भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु हाल बसिरहेको स्थानमा कुनै समस्या नभए सोही स्थानमा, यदि त्यो स्थान उपयुक्त नभए अर्को उपयुक्त स्थानको खोजी गरी बसोबासको व्यवस्था गरिने उनले बताए। “अव तपाँईहरु महानगरको ढोकामा आएर जिन्दाबाद र मुर्दावाद भन्नु पर्दैन” उनले भने, हामीले तपाँईहरुलाई खुसी नै बनाएर उचित व्यवस्था गर्छैँ।” तर, सरकारले तोकेको समय सीमा भित्र सूचीकृत हुन नआएका र पछि दाबी विरोधको प्रक्रियामा झुटो ठहरिएका निवेदन उपर आवश्यक कारबाही हुने उनले बताए।
राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले कतिपयले यो निस्सा केही होइन भनेर भ्रम छर्न खोजेको भन्दै यसको महत्त्व माथि खेलबाड नगर्न सचेत गराए। भोलि जग्गा प्राप्तिसम्मको अन्तिम प्रक्रियामा समेत यो निस्साको महत्त्वपूर्ण भूमिका रहने भएकाले यसलाई गर्वका साथ सुरक्षित राख्न उनले आग्रह गरे। “यहाँ कसैलाई लाग्न सक्छ, यो निस्सा भनेको केही होइन” उनले भने, “निस्सा भनेको महत्त्वपूर्ण छ, यो निस्सा भनेको तपाँईहरुले लगत फर्म भरेको प्रमाण हो । त्यति मात्र होइन यही निस्साको आधारमा तपाईँको जग्गाको नाप जाँच हुन्छ ।” जग्गाधनी पुर्जा प्राप्त गर्ने बेला पनि यही निस्सा आवश्यक पर्ने उनले बताए।
पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले वडामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरे । वडावासीहरूको पीडामा आफूहरू साथमा रहेको उनले विश्वास दिलाए। वडा नं. ९ मा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको सङ्ख्या ९११ रहेको छ । यसअघि महानगरको वडा नं. २५ र ३२ मा पनि निस्सा वितरण गरिसकिएको छ ।
Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.