www.tandavnews.com
Fact ~ In search of truth

गठबन्धन बनाएर निर्वाचनमा जाने कांग्रेसको सर्वसम्मत निर्णय हो : प्रवक्ता डा महत

काठमाडौँ।
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले आगामी मङ्सिरमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा अरु पार्टीसँग गठबन्धन बनाएर जाने निर्णय पार्टीको सर्वसम्मत निर्णय भएको बताएका छन्।

प्रवक्ता महतले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीभित्र गठबन्धन बनाएर जाने विषयमा कुनै मतमतान्तर नरहेको बताए। “पार्टीभित्रको मतमतान्तर पदाधिकारी बैठक र केन्द्रीय कार्यसमितिको बैठकमा समाधान हुन्छन्, निर्वाचनसम्म गठबन्धन बनाएर जाने विषयमा पार्टीभित्र कुनै मतमतान्तर छैन”, उनले भने।

प्रवक्ता डा महतले अहिलेकै गठबन्धनलाई जोगाएर निर्वाचनसम्म लैजाने स्पष्ट पारे। “अघिल्लो निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन हुँदा स्वाभाविक हुने, अहिले कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गर्दा अस्वाभाविक हुने ?”, उनले प्रश्न गरे। कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन नगरे अर्को दलले माओवादीसँग गठबन्धन गर्नसक्ने उनको भनाइ छ ।

Batas

उनले देशको ठूलो पार्टी कांग्रेसमा निर्वाचनका लागि धेरै आकांक्षी हुनु स्वाभाविक भएको बताउँदै सबै आकांक्षीलाई मिलाएर लैजानु पार्टीभित्र चुनौतीपूर्ण रहेको उल्लेख गरे। “धेरै सिट लिनुभन्दा धेरै सिटमा जित्नु कांग्रेसका लागि महत्वपूर्ण कुरा हो”, उनले भने। समावेशीतालाई सुनिश्चित गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन कांग्रेसले विगतका दिनमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियाे।

प्रवक्ता डा महतले आगामी निर्वाचनमा पार्टीका भ्रातृ संस्था, शुभेच्छुक संस्था र आम युवालाई मतदाताको घरदैलोसम्म परिचालन गरिने स्पष्ट पारे। “केन्द्रमा रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाका कार्यसमितिले पूर्णता पाएका छैनन्, पूर्णता दिन पाएको भए राम्रो हुन्थ्यो, जिल्ला/जिल्लामा भएका पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई निर्वाचनको समयमा परिचालन गछौँ”, उनले भने।

उनले पार्टीभित्र टिकट नपाउँदा स्वतन्त्र उठ्ने प्रवृत्ति बढेको भन्दै स्वतन्त्र उठ्न नदिने वातावरणका लागि कांग्रेस लाग्ने बताए। पारदर्शी र विकासको मामिलामा कांग्रेस सधैँ अगाडि उभिएको उनको भनाइ थियो ।

उनले कांग्रेस सरकारको पालामा अधिकांश सञ्चार गृह खुलेको स्मरण गर्दै पत्रकारको पेशागत अधिकार र प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने पक्षमा कांग्रेसले सधैँ सकारात्मक भूमिका खेल्ने उल्लेख गरे।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.