www.tandavnews.com
Fact ~ In search of truth

एक्याप विरुद्ध खनिए माछापुच्छ्रे बासी, खानेपानीबाट राजश्व लिनुपर्ने माग

पोखरा ।
माछापुच्छ्रे  गाउँपालिका ६ धितालका राजाराम पौडेलले आफ्नो पालिकामा एक्याप र स्थानीय सरकार समानान्तर चल्दा नागरिकले सास्ती भोग्नुपरेको गुनासो गरे  । ‘एक्याप र स्थानीय सरकार समानान्तर भयो । पालिकाको क्षेत्रभित्र एक्याप छ, तर पालिकालाई टेर्दैन,’ उनले भने, ‘पालिका र एक्याप समानान्तर हुँदा जनताले दुख पाएका छन् । समाधानको निकास खोजियोस् ।’ उनले मात्रै होइन, जनप्रतिनिधिहरु पनि एक्यापको कामप्रति सन्तुष्ट छैनन् ।

माछापुच्छ्रे  गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गणेश आचार्य एक्यापले निर्दोषहरुलाई अपराधी करार गरेको आरोप लगाउँछन् । ‘जसले मेसिन चलाएकै छैन, उसलाई एक्यापले पत्र लेखेको छ,’ उनले भने, ‘कसैले उजुरी ग¥यो भन्दैमा निर्दोषलाई पत्र लेख्नुपर्छ ? उसको सामाजिक प्रतिष्ठा विग्रिएको छ, त्यसको जिम्मा कसले लिन्छ ?’

उनले आफुहरु पनि संघ सरकारकै कानून अनुसार सन्चालित सरकार भएकोले एक्यापलाई समन्वय विना अघि नबढ्न उनको चेतावनी छ । ‘संघको कानून अनुसार चलेको भनेर अवैध काम गर्न मिल्छ ? दर्ता नभएको संस्थाले के आधारमा शुल्क उठाएको छ ? सिएमसीको अहिलेसम्म अधिवेसन भएको छैन,’ उनले भने, ‘एक्यापले सरासर गल्ती गरिरहेको छ ।’ माछापुच्छ्रे ८ का वडाध्यक्ष रामबहादुर गुरुङ एक्यापकै कारण आन्तरिक श्रोत बढाउन नसकेको गुनासो गर्छन् ।

Batas

‘सरकार भनेको त आफै श्रोत खोजेर विकास गर्ने हो नि । हाम्रो श्रोतजति एक्यापले हडपेको छ,’ उनले भने, ‘न खोला छुन पाएका छौं, न जंगल छिर्न । सानो दाउरा काट्दा पनि मुद्धा खेप्नुपर्छ । सरकार आएपनि नागरिकले अनुभुति गर्न पाएका छैनन् ।’ एक्यापले पालिकासँग समन्वय नगरेको आरोप उनले लगाए ।

एक्याप प्रतिनिधि बाबुलाल तिरुवाले आफुहरु सरकारकै मातहतमा रहेर चलेको बताए । ‘नागरिकलाई दुख दिने हाम्रो नियत छैन । सकेसम्म समन्वय गरेरै चलेका छौं,’ उनले भने, ‘अहिले हामी संघ सरकारको एउटा अंगको रुपमा छौं । संरक्षणको काम गरेका छौं । भोली सरकारले हटायो भने हामी प्राविधिक रुपमा मात्रै काम गर्छौं । यो हाम्रो रहर होइन ।’ उनले हाल अन्योलको अवस्था रहेकोले केही समयमै एक्यापबारे टुंगो लाग्ने र त्यसबेलासम्म विद्यमान व्यवस्था अनुसार नै चल्ने बताए ।

गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले एक्यापसँग धेरै पटक समन्वय गर्न खोज्दा पनि सफल नभएको बताए । ‘नागरिकको गुनासो बढेको छ । सरकार भएपछि हामीले उनीहरुको कुरा सुन्नुपर्छ,’ गुरुङ भन्छन्, ‘एक्याप अव स्थानीय सरकारमा आउनुपर्छ ।’ खासगरी एक्यापका कारण नदीजन्य सामग्री उत्खनन् गर्न नपाएको पालिकाबासीको गुनासो छ । एक्याप डेढ वर्षदेखि विना नवीकरण चलिरहेको छ । २०७७ माघमा म्याद सकिएपछि नवीकरण भएको छैन ।

गाउँपालिकाले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका विषयमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले पोखरा खानेपानी संस्थानबाट पालिकाले राजश्व लिनुपर्ने बताएका छन् । ‘मर्दीखोलाको पानी पोखरा पुगेको छ । ड्यामका कारण खेतीयोग्य जमिन कटान भएको छ, सिंचाई नभएर बाँझिएको छ,’ स्थानीय नन्दलाल गौतमले भने, ‘हाम्रो जमिनको सुरक्षा हुनुप¥यो । पालिकाले संस्थानबाट राजश्व लिनुपर्छ । त्यसका लागि पहल होस् ।’ अध्यक्ष गुरुङले राजश्व लिनकै लागि कार्यपालिकाबाट निर्णय भएर सम्बन्धित निकायमा पठाइएको जानकारी दिए ।

उनीहरुले भेडाबारीमा निर्माण हुने भनिएको एन्फाको ड्रिम प्रोजेक्ट अन्योलमा परेको प्रति गुनासो गरेका छन् । ‘एन्फाको एकेडेमी बनाउने भनेर हामीले जग्गा दियौं । पहिले १७ करोड छुट्टिएको सुनेका थियौं । अहिले के प्रगति भैरहेको छ?,’ एकनारायण अधिकारीले भने, ‘पालिकाको बजेट पनि खर्च भएको छ । राष्ट्रकै गौरवको योजना अलपत्र पर्दा हाम्रो मन दुखेको छ । योजना जसरी पनि पूरा होस् ।’ कार्यक्रमका सहभागीहरुले पालिकाका विभिन्न सडकहरु निर्माणमा ढिलासुस्ती भएको, १५ शैय्याको अस्पताल निर्माणका लागि जग्गाको टुंगो नलागेको, अबैध रुपमा क्रसर सन्चालन र नदीजन्य सामग्री निकासी भएको, करारका कर्मचारी हटाएको, बजेट विनियोजनमा विभेद गरेको लगायत गुनासो गरे ।

उपाध्यक्ष सीता अधिकारीले नागरिकको आवश्यक्ता र अपेक्षाकै आधारमा योजना छनोट र बजेट विनियोजन गरेको बताएकी छिन् । उनले अस्पताल निर्माणका लागि जग्गा केहि महिनाभित्रै टुंगो लगाउने र निर्माण सुरु गर्ने बताइन् । करारका कर्मचारीको म्याद सकिएर सम्झौता नवीकरण नभएको, सडक निर्माणमा ठेकेदारले बदमासी गरेका कारण समयमा सम्पन्न हुन नसकेको अधिकारीको भनाई छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले गत वर्षमा सम्पन्न योजना र बजेट खर्चबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.