www.tandavnews.com
Fact ~ In search of truth

बडिगाड गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा

बागलुङ।
बागलुङको बडिगाड गाउँपालिकाले वडा–वडामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्नेदेखि गरिब, विपन्न परिवारको उपचारका लागि सहयोगसमेत गर्दै आएको छ ।

नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना बनाएको पालिकाले यसवर्ष मात्रै दुई हजार पाँच सय जनाको निःशुल्क बीमा गर्दैछ । आगामी पाँच वर्षसम्म करिब २० हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन। उनले स्वास्थ्य बीमाका लागि गाउँपालिकाले कार्यविधि तयार गरिसकेको र केही समयमै काम सुरु गर्ने जानकारी दिइन्।

“हामी निर्वाचित भएर आएपछि स्वास्थ्य क्षेत्रमा केही सुधारका प्रयास भएका छन्, गाउँ–गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ, यसबाट नागरिकले भरपुर सेवा लिन सक्छन्, यो एक महिनामा एक पटक मात्रै होइन, यो त पालिकाका १० वटै वडामा निरन्तर चल्छ” उनले भनिन्, “स्वास्थ्य संस्था पुगेर उपचार गराउन नसक्नेको थोरै भए पनि पैसा बचेको छ, रोग लुकाएर बसेकाको उपचार भएको छ, उहाँहरुले थोरै भए पनि राहत महसुस गर्नुभएको हामीले पाएका छौँ ।”

Batas

अध्यक्ष अधिकारीले अति विपन्न, गरिब, एकल महिला, एकल पुरुष, दीर्घरोगी, ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्ति र न्यून आर्थिक अवस्था नागरिकलाई प्राथमिकतामा राखेर निःशुल्क स्वास्थ्य बीमा गरिने बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वम्सेविकालाई ५० प्रतिशत पालिका र ५० प्रतिशत केन्द्र सरकारले बीमा गरी दिने बताइन्।

“निःशुल्क स्वास्थ्य बीमा सबै नागरिकका लागि होइन, एउटा मापदण्ड बनाएका छौँ, सोही मापदण्डभित्र पर्ने नागरिकको मात्रै निःशुल्क स्वास्थ्य बीमा हुन्छ, हामीले बनाएको मापदण्डभित्र अति विपन्न, गरिब, एकल महिला, एकल पुरुष, दीर्घरोगी, ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्ति र न्यून आर्थिक अवस्था भएका नागरिक पर्छन्” उनले भनिन्, “उपचारमै मान्छेले हजरौँ खर्च गरेका हुन्छ, गरिब विपन्नले उपचार गर्न नसक्ने भएको हुँदा कम्तीमा पालिकाले बीमा गरिदियो भने उनीहरुलाई सहुलियत हुने हुँदा हामीले यो कार्यक्रम ल्याएका हौँ, कार्यविधि तयार छ, अब केही समयमै बीमाको काम सुरु हुन्छ ।”

गाउँपालिकाले बिरामीको अवस्था र रोगको प्रकृति हेरेर १० देखि २० हजारसम्म भत्ता दिने गरेको अध्यक्ष अधिकारीले जानकारी दिइन्। दश वडा रहेको बडिगाडमा स्वास्थ्य चौकी सात, आधारभूत स्वास्थ्य सेवा केन्द्र तीन र सामुदायिक स्वास्थ्य इकाई ६ रहेको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले ग्वालीचौरमा ‘फार्मेसी’समेत सञ्चालन गरेको अध्यक्ष अधिकारीले जानकारी दिइन्। नागरिकलाई सहज र सुपथ मूल्यमा औषधि उपलब्ध गराउनका निम्ति फार्मेसी सम्भालन भएको उनको भनाइ छ ।

गाउँपालिकाले तीन स्थानमा प्रयोगशाला सेवा, भिडियो एक्सेरे र कुपोषण भएका बालबालिकाको उपचारका लागि उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.