www.tandavnews.com
Fact ~ In search of truth

चुनाव जिताउनुस्, माननीय खोज्दै हिँड्नुपर्ने परिपाटि अन्त्य गर्छुः दामोदर बैरागी

पोखरा ।
देशमा अहिले एउटा गाउँको सामान्य काम सक्न पनि राजधानी धाउनुपर्ने बाध्यता छ । जनता आफ्नो समस्या सुनाउन र बजेट पार्न जिताएर पठाएका जनप्रतिनिधि भेट्न काठमाडौँ र प्रदेश राजधानी पस्नुपर्छ ।

आगामी ४ मंसिरका प्रतिनिधिसभा तथा प्रदेश सभामा यस्ता कमै उम्मेद्वार देखिएका छन् जसले राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने विषयलाई प्रमुखताका साथ उठाएका हुन् । कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार दामोदर पौडेल बैरागीले आफूले चुनाव जिते गाउँदेखि राजधानी धाउनुपर्ने र सिधै सांसदलाई भेट्नुपर्ने समस्या समाधानलाई प्राथमिकता दिएका छन् । नेकपा एमालेबाट उम्मेद्वार रहेका उनले पार्टीको टोल कमिटी हुँदै सांसदसम्म जनताका समस्या सुनाउन सकिने योजना अघि सारेका छन् । त्यसका लागि पार्टी वडा वा पालिका कमिटीलाई अधिकार सम्पन्न बनाउन सकिने उनको भनाइ छ ।

नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उम्मेद्वार पौडेलले टोलका जनताले सांसदसम्म गुनासो लिएर जानुपर्ने परिपाटी अन्त्य गर्न पहल गर्ने प्रतिबद्धता जनाए । ‘माननीयलाई नभेटी काम नहुने, पार्टी कमिटीमा राख्दा सुनुवाइ नहुने र निर्वाचि जनप्रतिनिधिलाई भेटेपछि काम हुने अवस्थाको पनि अन्त्य हुनु जरुरी छ,’ उनले भने, ‘हाम्रो टोल, वडा वा पालिकाले बोलेपछि पुग्ने परिपाटि हामीले बनाउनुपर्छ । अहिलेको अवस्थाको अन्त्य हुन्छ । तल्लो तहकै अध्यक्षले समस्या समाधान गर्न सक्ने वातावरण हामीले बनाउनुपर्छ । त्यसमा मेरो ध्यान जान्छ ।’

Batas

जनताका दैनिक गर्नुपर्ने र विकास निर्माणका आयोजना निर्धारित समयमै सक्न आफूले कुनै कसरत बाँकी नराख्ने उम्मेद्वार पौडेलको प्रतिबद्धता छ । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक, सल्यान, तिखेढुंगालगायत गाउँ जाने सडक स्तरोन्नति अत्यावश्यक रहेकाले त्यसमा पनि विशेष ध्यान दिने पौडेलले बताए ।

प्रदेश सभा ३ (ख)का उम्मेद्वार राजीव पहारीले पछिल्लो कार्यकालमा सुरु गरेर अधुरा रहेका विकास निर्माणको कामलाई पूर्णता दिन पार्टीले फेरि उम्मेद्वार बनाएको बताए । ‘साढे ३ वर्ष प्रदेशमा एमालेको सरकार हुँदा सडक, पु्लका काम भएका थिए । राजनीतिक अस्थिरताले सरकार ढल्यो,’ उनले थपे, ‘त्यतिबेला जनताको आस पनि ढल्यो । गठबन्धनको सरकारले बिगार्नेबाहेक केही गरेन । अब जितेर पहिले बाँकी भएका काम पुरा गर्न छ ।’

कास्की ३ बाट २०७४ सालमा एमालेकै जगत विश्वकर्मा विजयी भएका थिए । उनी खेलकुदमन्त्री पनि भए । पूर्वमन्त्री एवं एमाले पोलिटब्यूरो सदस्य विकले गठबन्धनले सरकार चलाएपछि अवरुद्ध विकासलाई पूरा गर्न फेरि एमालेले जित्न आवश्यक रहको बताए । ‘जनताले परिवर्तनको अवस्था महसुस गरेका थिए । देशमा राजनीतिक अस्थिरता, देशी विदेशी शक्ति, पुँजीवादी र कम्युनिस्टलाई सत्ता बाहिर पु¥याउने षड्यन्त्र भयो,’ उनले भने, ‘जनादेशको केपी सरकारलाई विस्थापित गर्दा देशको अवस्था जरजर बनेको बुझेका छौं । अवरुद्ध भएको विकासलाई पूरा गर्न फेरि एमालेले जित्नुपर्छ ।’
चुनावताका बोलेका सबै काम पूर्ण नभए पनि काम सुरु भएको उनले दाबी गरे । एमालेका उम्मेद्वारले मतदाताको शिर झुक्ने काम नगर्ने भएकाले एमालेकै उम्मेद्वारलाई जिताउन उनले आह्वान गरे । पूर्वमन्त्री विकले भने, ‘गण्डकी प्रदेशमा मुख्यमन्त्री हुँदा धेरै योजना ल्याउन सफल भएका थियौँ । हामीले शिर झुकाउने काम कहिले गरेनौँ । संकल्प गरेअनुसार एमालेका उम्मेद्वार फेरि काम गर्न फर्केका छौँ ।’

पार्टी अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष विवेक देवकोटाले गाउँपालिकामा एमालेलाई जिताएजस्तै विकास निर्माणका कामलाई तीव्रता दिन संघ र प्रदेशमा पनि एमालेको जित आवश्यक रहेको बताए । उनले पार्टीले आफ्नो जीवन आन्दोलन र पार्टीलाई सुम्पेका नेतालाई प्रतिनिधिसभा उम्मेद्वार बनाएकाले अन्नपूर्णबासीले न्याय गर्नुपर्ने सुनाए ।

कार्यक्रममा पार्टी पोलिटब्यूरो सदस्य सीता गिरी ओली, केन्द्रीय सल्लाहकार परिषद सदस्य एवं संविधानसभा सदस्य डिबी नेपाली, पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य देवी सुवेदी, पार्टी प्रदेश कमिटी सचिवालय सदस्य पुण्य पौडेललगायतको उपस्थिति थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.