www.tandavnews.com
Fact ~ In search of truth

गठबन्धन एक दुई दिनको यात्रा होइनः अध्यक्ष नेपाल

काठमाडौँ।

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विशाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गरेका थिए। वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले गठबन्धनको संयुक्त सहकार्य र अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र संयुक्त उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

निकै ठूलो चुनौतीको सामना गरेर आफूहरु अगाडि बढेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधान र राज्यभन्दा माथि ठान्ने, पार्टीभन्दा माथि ठान्ने प्रवृत्ति तत्कालीन नेकपाको नेतृत्वमा देखा परेको र त्यसकाविरुद्ध विद्रोह गरिएको हो भने। पार्टी र नेतामा देखापरेको अह्मका कारण जनताको चाहनामा कुठाराघात हुने अवस्था आएपछि आफूहरुले विद्रोह गरेको उनले बताए।

गणतन्त्रको आन्दोलनमा पनि कम्युनिष्ट र कांग्रेस एकआपसमा मिलेर नै सफल बनाइएको तथ्य उनले पेश गरे। न्याय र समानतामूलक समाज स्थापनाका लागि प्रतिगामी गठबन्धनका विरुद्ध साझा मतका साथ उभिन उनले आग्रह गरे।

नेपालको आफ्नो विशेषतामा आर्थिक विकास र समृद्धिको योजना लागू गर्नुपर्ने उनको भनाइ थियो । उनले कृषिमा वैज्ञानिक विधिको प्रयोग गरेर उत्पादकत्व बढाउनुपर्ने, प्राकृतिक स्रोत तथा साधनको उपयोग गर्दै देशभित्रै रोजगारी उपलब्ध गराउनुपर्ने धारणा राखे।

आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रुपान्तरण गर्ने विषयमा चासो र चिन्ता हुनुपर्ने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री नेपालले बुद्ध जन्मेको देशले आर्थिक सामाजिक रुपान्तरणको खाका बनाउनुपर्ने बताए। पूर्वप्रधानमन्त्री नेपालले भने, “हामी देश विकासको नयाँ यात्रामा अगाडि बढ्न चाहन्छौँ । हामी पुनःजाँचिन चाहन्छौँ । हाम्रो गठबन्धनले जित्नुपर्छ । सहमतिका साथ उठाएका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।”

पूर्वप्रधानमन्त्री नेपालले शक्ति वृद्धिका लागि एकले अर्कालाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । “यो एक दिन दुई दिनको यात्रा होइन । गठबन्धन यथार्थ भएका हुनाले, गाउँ टोल बस्ती बस्तीमा गएर गठबन्धनका पक्षमा माहोल बनाउन र विजयी गराउनुपर्छ”, पूर्वप्रधानमन्त्री नेपालले भने। तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आम नेपालीलाई शुभकामना दिँदै उहाँले पार्टी र निर्वाचन चिह्न अलगअलग भए पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.