www.tandavnews.com
Fact ~ In search of truth

आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौँ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने बताएका छन्।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका सङ्घसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित रुपमा सम्पन्न गराउन सघाउनुपर्ने बताए।

उनले आचारसंहिताको उल्लङ्घन र निर्देशनको अवज्ञा भएमा उल्लङ्घनकर्तालाई महँगो पर्न सक्ने चेतावनी समेत दिए। उनले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारबाही हुने स्पष्ट गरे। निर्वाचनको सन्दर्भमा आयोगले दिएका निर्देशनहरूको कसैले अवज्ञा गरे त्यो महँगो हुने उनको चेतावनी थियो ।

Batas

युवाहरूलाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्दै उनले आचारसंहिताको उल्लङ्घन पाइएमा जुनसुकै माध्यमबाट उजुरी दिने सकिने अवगत गराए।

जुनसुकै निर्वाचनमा जित्ने उम्मेदवारभन्दा हार्नेको सङ्ख्या बढी हुने व्याख्या गर्दै उनले निर्वाचनपछिको राजनीतिक वातावरण धूमिल हुन नदिन र सौहार्द्यता कायमका लागि पनि युवाहरूले सकारात्मक भूमिका निर्वाह खेल्न सक्ने उल्लेख गरे।

प्रमुख आयुक्त थपलियाले मतदान केन्द्रहरू सकेसम्म अपाङ्गता मैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट गरे।

प्रमुख आयुक्त थपलियाले भने, “मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस् । स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौँ ।”

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.