
ताण्डव
हेटौँडास्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरी आजबाट थप कारबाही प्रक्रिया सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा तथा विभिन्न उपभोक्तावादी संघसंस्थाको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा उक्त कम्पनीमा म्याद गुज्रिएको चिया फेलापारेपछि स्थानीय प्रशासनले युनिलिभरको चिया प्लान्ट सिल गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालले जानकारी दिएका छन् ।

उनले भने, ‘विशेष सूचनाका आधारमा भएको अनुगमनमा विवरण स्पष्ट नभएका तथा म्याद गुज्रिएका चियापत्ति फेलापारेर हामीले नमुना संकलन गरेका छौँ र कम्पनीको चिया प्रशोधन केन्द्रमा सिलबन्दी गरेका छौँ ।’ उनका अनुसार उक्त कम्पनीमा म्याद गुज्रेका तथा विवरण स्पष्ट नभएका करिब ३० किलोग्रामका ९ सय २० बोरा चिया फेलापरेको थियो । फेलापरेको चियाको नमुना संकलन गरी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको उनले बताए ।

उक्त चियालाई पुनः म्याद थपेर नयाँ प्याकेट बनाउने प्रयोजनका लागि राखिएको विशेष सूचना पछि अनुगमन गरिएको उनले जानकारी दिए । भारतबाट आयात गरिएको म्याद गुज्रिएको चियापत्ती ‘रेड लेबल’ नामक चियाको ब्राण्डमा बिक्रीका लागि बजार पठाउने गरेको फेला पारिएसँगै अनुगमन भएको हो ।
प्राप्त विशेष सूचनाको आधारमा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्तावादी संघसंस्थासहितको संयुक्त अनुगमन टोलीले उद्योग परिसरमा रहेको चियापत्ती प्लाण्टमा अनुगमन गरेको बताइएको छ । यसअघि सो टोलीले भारतीय ब्राण्डको नाममा गैरकानुनीरुपमा अगरबत्ती उत्पादन गर्ने एक व्यवसायीलाई पनि कारबाही गरेको थियो ।
रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।