www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा मङ्सिर १ सम्ममा मतदान केन्द्रमा सामग्री पुग्ने

पोखरा।
मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको कास्कीमा सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार निर्वाचन सामग्री र कर्मचारी व्यवस्थापनको सम्पूर्ण तयारी पूरा छ ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमबहादुर पराजुलीले चुनावका लागि आवश्यक सामग्री व्यवस्थापन र कर्मचारी व्यवस्थापनको काम पूरा भएको कात्तिक ३० गतेदेखि मतदान अधिकृतलाई सामग्री बुझाएपछि मङ्सिर १ गते साँझसम्ममा सम्पूर्ण मतदानस्थलमा सामग्री पुगिसक्ने बताए।

उनले निर्वाचनका लागि आवश्यक ७० थरिका सामग्रीलाई मतदान केन्द्रमा पठाउनका लागि प्याकिङ गरेर तयारी अवस्थामा राखिएको जानकारी दिए।

Batas

त्यसैगरी कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा खटिने सम्पूर्ण मतदान अधिकृत, सहायक अधिकृतलाई मतदान पूर्व र मतदानपश्चात् गर्नुपर्ने सम्पूर्ण प्रक्रियाका बारेमा अभिमुखीकरणसहितको तालिम सम्पन्न भएको छ ।

कास्कीमा कूल दुई लाख ९१ हजार पाँचसय ६८ मतदाता रहेका छन् । गत स्थानीय निर्वाचनमा भन्दा अहिले १० हजार मतदाता बढेका छन् । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक सय ५० मतदानस्थल र तीन सय ४४ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

उनले कास्कीमा करिब १० हजारको हाराहारीमा कर्मचारी र सुरक्षाकर्मी स्वयंसेवक परिचालन हुनेछ । एक मतदान केन्द्रमा २० देखि २५ जना जनशक्ति खटिने छन् । विगतको अवस्थालाई हेरेर मत बदर नहोस् भनी मतदाता शिक्षालाई विशेष जोड दिइएको न्यौपानेले बताए।

त्यसैगरी आचारसंहिता उल्लङ्घन, विभिन्न कर्मचारी, जनप्रतिनिधिका विरुद्ध परेका उजुरीका सन्दर्भमा पनि निर्वाचन कार्यालयले प्रक्रियागत रुपबाट कारबाही अगाडि बढाएको उनको भनाइ छ ।

यसैगरी चुनावलाई स्वच्छ निष्पक्ष र भयरहित तरिकाबाट सम्पन्न गर्न आवश्यक सम्पूर्ण गृहकार्य पूरा भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। उनले भने, “मतदान केन्द्र र भौगोलिक र अन्य अवस्थाको विश्लेषण गरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गीकरण गरेका छौँ । यही आधारमा सुरक्षाकर्मीको परिचालन हुनेछ ।”

उनले निर्वाचनलाई भयरहित र स्वतन्त्ररुपमा आफ्नो मताधिकारको प्रयोग गर्न आमनागरिकलाई आग्रहसमेत गरे। उनका अनुसार नेपाल प्रहरी, नेपाली सेना, म्यादी प्रहरी गरेर तीन हजार सुरक्षाकर्मी मतदानस्थलमा खटिनेछन् । उनले मतदानपछि मतगणना र मतपरिणामसम्मको अवस्थालाई दृष्टिगत गरी सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी दिए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.