www.tandavnews.com
Fact ~ In search of truth

विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय खाली

तनहुँ ।
व्यास नगरपालिका ११ राम्चेकी १० वर्षीया सोनिका चेपाङ स्थानीय सूर्योदय प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्छिन् । तर अहिले सोनिकालाई विद्यालयमा भेट्न सकिदैन । उनलाई आजभोलि सुन्तला बगैँचामा मात्र भेट्न सकिन्छ ।

आमासँगै घर नजिकैको बगैँचामा सुन्तला टिप्न जाने गर्दा सोनिका विद्यालय जान नपाएकी हुन् । स्थानीय सूर्योदय प्राथमिक विद्यालयमा पढ्ने चेपाङ समुदायका करिब १९/२० विद्यार्थी आजभोलि विद्यालयमा नभइ सुन्तला बगैँचामा भेटिन्छन् ।

प्रारम्भिक बालविकासदेखि कक्षा ३ सम्म अध्ययन हुने विद्यालयमा पढ्ने चेपाङ समूदायका विद्यार्थी घरको काम धन्दा आफैँ गर्नुपर्ने भएकोले विद्यालयमा आउँदैनन् । बुबा मजदूरी गर्न र आमा सुन्तला टिप्न हिँडेपछि घरमा खाना पकाउने र बालबालिका हेर्नुपर्दा आफूहरु विद्यालय जान नपाएको कक्षा ३ मा अध्ययनरत १० वर्षीय सुनिल चेपाङले बताए ।

Batas

‘बा काम गर्न गए, आमा सुन्तला टिप्न’, ढिला गरी विद्यालय पुगेका सुनिलले भने, ‘भात पकाउने काम गर्नु पर्दा स्कुल आउन ढिला हुन्छ । आमासँगै सुन्तला टिप्न गएको बेला त स्कुल आउनै पाइदैन ।’ आमासँगै आफू पनि सुन्तला टिप्न जादाँ दिनको रु दुई सय पारिश्रमिक पाउने गरेको सुनिलले बताए ।

आमा सुन्तला टिप्न गएको दिन आफूहरुले नै घरमा दाउरा चिर्ने, खाना पकाउने, सिस्नो टिप्ने काम गर्नुपर्दा विद्यालय आउन नपाइने कक्षा ३ का अर्का विद्यार्थी विराज चेपाङले बताए । ‘बा काममा जाँदा भाइबहिनी हेर्ने काम गर्नुपर्छ’, उनले भने, ‘आमा आज सुन्तला टिप्न गयो, सिस्नो टिपेर भात पकाएर खाँदा स्कुल आउन ढिलो हुन्छ ।’

स्थानीय तनहुँसुर र छापमा रहेका करिब एक दर्जन सुन्तला बगैँचामा राम्चेका चेपाङ महिलाले प्रत्येक वर्ष सुन्तला टिप्ने काम गर्छन् । आफूहरु सुन्तला टिप्न जाँदा प्रायः काखमा रहेका बच्चा हेर्न र सुन्तला टिप्नसमेत छोराछोरी समेत जाने गरेको व्यास ११ राम्चेकी मनमाया चेपाङले बताइन् । ‘सुन्तला टिप्न जाँदा छोराछोरी पनि सँगै लैजानुपर्छ’, मनमायाले भनिन्, ‘साना भाइबहिनी हेर्न अरु छोराछोरी लैजानुपर्छ । सुन्तला टिप्ने मौसममा त्यसो नगरी हुँदैन । त्यसपछि त छोराछोरी स्कुल पठाइहाल्छौं ।’

स्थानीय चेपाङ समुदायका राम्चे र ओढारेका करिब ३१ घरमध्ये राम्चेका– नौ घरका २८ चेपाङ विद्यार्थी उक्त विद्यालयमा अध्ययन गर्छन । सुन्तला टिप्न आउँदा चेपाङ महिलाले प्राय : काखमा रहेको बालबालिका खेलाउन अन्य सन्तान पनि साथमै लिएर आउने गरेको व्यास ९ छापका सुन्तला किसान मनबहादुर विक बताउँछन् । बगैंचामा रहेको दुई सय ५० बोटका सुन्तला टिप्ने कार्यमा व्यास ११ राम्चेका चेपाङ महिला नै मजदूरीमा लगाउँदै आएको विकले जानकारी दिए ।

आफूहरुले बालबालिकालाई काममा नलगाई विद्यालय पठाउन भन्ने गरेपछि चेपाङ महिलाहरुले सुन्तला टिप्ने समय सकिएपछि मात्र विद्यालय पठाउने भन्ने गरेको विकको भनाइ छ ।

चेपाङ समुदायमा श्रीमान् बिहानै मजदूरीमा निस्कने र आमा सुन्तला टिप्न जाने गर्दा मङ्सिर र पुस महिनामा विद्यालयमा नियमित १०/११ जना मात्रै आउने गरेको विद्यालयले जनाएको छ । सुन्तला टिप्ने समयमा प्राय आफूहरु भन्दा साना भाइबहिनी हेर्न र ठुलालाई सुन्तला टिप्नसमेत चेपाङ महिलाले सुन्तला बगैँचामा लैजाने चलन रहेको विद्यालयकी प्रधानाध्यापक रस्मी थापाले बताए ।

‘हामीले विद्यालय नै पठाउन छाडेर सुन्तला टिप्ने काममा छोराछोरी नलैजानुहोस् पटक–पटक भन्ने गरेका छौं’, प्रधानाध्यापक थापाले भने, ‘तर सुन्तला टिपेपछि विद्यालयमा पठाइहाल्छौं नि भनेर चेपाङ भन्ने गर्नुहुन्छ ।’ सुन्तला टिप्ने समय मङ्सिर र पुस महिना भएकोले यो दुई महिना विद्यालयमा उपस्थित नहुने विद्यार्थीका लागि पुनः पाठ दोहोर्‍याउनु पर्ने प्रधानाध्यापक थापाले बताए ।

माघ लागेपछि अधिकांश विद्यार्थी नियमित हुने गरेपनि केही विद्यार्थी घरको काम सकेर ढिलो गरी विद्यालय आउने गरेको उनले जानकारी दिए । चेतनाको कमीले गर्दा ज्यालामजदूरी गरी जीविका चलाउँदै आएका स्थानीय चेपाङ समुदायले कामलाई नै पहिलो प्राथमिकतामा राख्दा विद्यार्थी नियमित नभएको विद्यालयले जनाएको छ । ‘बालबालिकालाई पढाउनै पर्छ भन्ने चेनताको स्तर ज्यादै कम छ”, प्रधानाध्यापक थापाले भने ।

विसं २०५३ मा स्थापित उक्त विद्यालयमा बालबालिकालाई पढाउनपर्छ भनेर आफूहरुले विभिन्न कार्यक्रम र छलफल गरेपनि चेपाङ अभिभावकलाई बुझाउन कठिनाई भएको विद्यालयले जनाएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.