www.tandavnews.com
Fact ~ In search of truth

थप ३७ विद्युतीय बस सञ्चालन गर्ने साझा यातायातको तयारी

काठमाडौँ।
गत असारमा तीन विद्युतीय बस सञ्चालन सुरु गरेको साझा यातायात सहकारी संस्थाले थप ३७ बस सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना काठमाडौँ आइपुगेका साझाका विद्युतीय बस सञ्चालनका लागि जाँच भइरहेको संस्थाले जनाएको छ ।

छ महिना पहिलेदेखि तीन बस सञ्चालनमा रहेको र अहिले आइपुगेका ३७ बस सञ्चालनका लागि जाँचका क्रममा रहेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए। जाँच सकाएर त्यसको प्रतिवेदन आएपछि दर्ता गरिने उनले बताए। उनले भने, “परीक्षण सकाएर दर्ता गर्न अब केही समय लाग्नसक्छ ।”

बस सञ्चालनका लागि बाटो इजाजतपत्र लिनुपर्ने हुन्छ । रुट निर्धारण गर्दा सकेसम्म हाल कम सङ्ख्यामा बस भएका रुटमा राखिने उनले बताए। साझा यातायातका पेट्रोलियम र विद्युतीय सबै बसहरुमा सरकारले तोकेबमोजिम भाडादर रहेको छ ।

Batas

अहिले आएका सबै सहरी बस (सिटी बस) रहेको र यी काठमाडौँ उपत्यकाभित्रै सञ्चालन हुने संस्थाले जनाएको छ । पहिले ल्याइएका बस र अहिले आएका बसको लम्बाइ, चौडाइ क्षमता सबै उस्तै रहेको उनले बताए। उनले भने, “पहिले परीक्षणका लागि ल्याइएकामा अहिले थप ल्याइएको हो ।” यी बसहरुमा २६ सिट रहेको र क्षमता प्रतिघण्टा एक सय ६१ किलोवाट रहेको छ, बस एकपटक पूरै चार्ज गर्दा दुई सय किलोमिटर चल्नेछन् ।”

अरू सामान्य बसभन्दा विद्युतीय बस होचो र सानो हुँदा अपाङ्तामैत्रीसमेत रहेका छन् । होचो (लो–फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि स्थान राखिएको छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी दिने र अरू सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ ।

हाल सञ्चालनमा रहेका साझाका तीन विद्युतीय बस सञ्चालनका हिसाबले ठीक नै रहेको पाण्डेयले बताए। उनले भने, “यसबारे अन्तिम रिपोर्ट निकालेको नभए पनि अरू समस्या देखिएको छैन ।” ती बसहरु हाल दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे हुँदै जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल हुँदै त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण अस्पताल–नारायण गोपालचोक–बाँसबारी–बूढानीलकण्ठ रुटमा सञ्चालन भइरहेका छन् ।

विद्युतीय बस पेट्रोलियम बसका तुलनामा होचो हुने भएकाले खाल्डाखुल्डी भएको सडकमा गाह्रो हुने हुँदा कालोपत्र सडकमा गुडाइने उनले बताए। सञ्चालनमा रहेका बसजस्तै नयाँ आउने बस खाल्डा नभएको सडकमा गुडाइने उनले बताए।

विगतदेखि नै स्थानीय तहसँगको समन्वयमा बस खरिद र सञ्चालन गर्दै आएको भए पनि तत्कालका लागि आएका बस सञ्चालन गर्नेलाई नै प्राथमिकता दिएको पाण्डेयले बताए । प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा आगामी दिनमा अघि बढाइने उनले बताए।

सङ्घीय सरकारसँगको समन्वयमा थप बस खरिद गर्नुपर्नेमा बाँकीका लागि प्रक्रिया अघि बढाइने उनले बताए। काठमाडौँ आइपुगेका बसका बारेमा विश्लेषण गरेर अर्को चरणमा ४०/५० वटा आउनसक्ने उनले जानकारी दिए। उनले भने, “दोस्रो चरणमा बस किन्न यो वर्ष प्रक्रिया अघि बढ्नसक्छ ।”
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.