www.tandavnews.com
Fact ~ In search of truth

फिर्के अतिक्रमणः खोला थुनेर बाटो, वडाध्यक्ष भन्छन्‘मलाई थाहा छैन’

जिवन सुबेदी
पोखरा, ताण्डव न्यूज ।

पोखराको लभ्लीडाँडासँगैको फिर्के खोलामा (वडा नं. १८ तर्फ) डोजर चलाएर नालामा रुपान्तरण गर्दासमेत १८ नं. वडाका जनप्रतिनिधिहरु बेखबर भएकोप्रति नागरिक समाज कास्कीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
समाजका संयोजक रामबहादुर पौडेलले दोषीलाई हदैसम्मको कारबाही गरियोस् भन्दै पोखरा महानगरपालिका समक्ष माग गरेका छन् । उक्त ठाउँ फिर्केखोलाको सबैभन्दा धेरै चौडाइ भएको क्षेत्र भएको पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् । यसको पूर्वपट्टी २ र ४ वडाको सीमा रहेको छ ।

“उक्त क्षेत्रमा ५० रोपनी भन्दा बढी क्षेत्रफल अतिक्रमण भएको छ” पौडेलले ताण्डव न्यूजसँग भने “यस विषयमा हामीले पोखरा महानगरपालिकाका उपमेयरलाई पनि जानकारी गराएका छौँ । उहाँले अनुगमन गरेर थप जानकारी लिने बताउनुभएको छ ।”  यद्यपी अतिक्रमण कसले गरेको हो ? भन्नेबारे आफूहरुलाई जानकारी नभएको पौडेलले बताए ।

Batas

महानगरका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले अतिक्रमणबारे आफूले सुनेको र यस विषयमा वडा नं १८ र २ का वडाध्यक्षसँंग थप जानकारी लिन लागेको बताए । उनले अतिक्रमण गर्ने कार्य गैरकानूनी रहेको बताउँदै महानगरले तत्काल आवश्यक कारवाही गर्ने बताए । उनले भने “त्यहाँ काम गरिरहेका प्रतिधिलाई हामीले निर्माण कार्य तत्काल रोक्न भनेका छौँ ।”

पोखरा महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष रणबहादुर थापाले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

ताण्डवसँगको कुराकानीमा वडाध्यक्ष थापाले भने “मलाई थाहा छैन । त्यस्तो हो भने महानगरमा उजुरी हाल्न लगाईदिनुस्, महानगरबाट डोजर चलाएको कहाँ हो तत्काल रोकिन्छ”। फिर्केको मुहान १८ नम्बरबाट सुरु हुने भएकाले २ नम्बरमा धेरै क्षेत्र नपर्ने भन्दै उम्कन खोजे ।

सो स्थानमा खोला नै बीचबाट थुनेर बाटो वारपार हुने बनाईएको छ । आफूहरुलाई उक्त काम गर्न पोखरा ५ निवासी शिबु रिजालले लगाएको स्थलगत रुपमा काम गरिरहेका एक मजदुरले बताए ।

पोखराको बीच भाग भएर बग्ने फिर्के पटक पटक अतिक्रमणको चपेटामा पर्दै आएको छ । अतिक्रमणकै कारण वर्षायाममा खोला थुनिएर ताल बन्ने गरेको भएपनि अतिक्रमण गर्ने काम भने रोकिन सकेको छैन ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.