www.tandavnews.com
Fact ~ In search of truth

पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाइनुपर्छ : मन्त्री किराती

काठमाडौँ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाउनुपर्नेमा जोड दिएका छन्।

पशुपति क्षेत्र विकास कोषका गतिविधिका बारेमा जानकारी लिन पुगेका मन्त्री किरातीले आज आयोजित कार्यक्रममा बाहिर हुने गरेका नकारात्मक टीकाटिप्पणी अन्त्य गरिनुपर्ने बताए। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कोषका गतिविधि चलायमान हुनुपर्ने उनको भनाइ थियो । “कोषले राज्यसँग लिनेमात्र भन्दा पनि विश्वविद्यालय, अस्पतालजस्ता सेवामूलक सेवा दिनुपर्छ, भगवान्को नामबाट सञ्चालन हुने यहाँका गतिविधि पारदर्शी हुनुपर्छ, पशुपति क्षेत्रमा रात्रिकालीन सफाइ सेवा पनि सञ्चालनमा ल्याएर सुधारको थालनी गरिनुपर्छ”, मन्त्री किरातीले भने।

पशुपति क्षेत्रमा सञ्चालनमा रहेका फूलप्रसाद पसलमा अनियमितता भइरहेको, बढी मूल्य तोकिने गरेको, घाट सेवामा अनियमितता हुने गरेकोलगायत गुनासा बढेकाले त्यसको समाधान गरिनुपर्ने उनको निर्देशन थियो ।

Batas

राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पशुपति क्षेत्रको गुरुयोजना निर्माणमा ढिलाइ भएको उल्लेख गर्दै विश्वमा पशुपतिनाथको पहिचान हुनेगरी गुरुयोजना बनाइनुपर्ने बताइन्। पशुपति क्षेत्रलाई पूजापाठ गर्नेस्थलका रुपमा मात्र नभइ यहाँको महत्वलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने उनको भनाइ थियो । कोषका सदस्य सचिव डा मिलनकुमार थापाले पशुपति क्षेत्रमा सञ्चालनमा रहेका फूलप्रसाद बिक्री कक्षमा फागुन पहिलो सातादेखि नै मूल्यसूची राख्न सूचना प्रकाशन गरिने जानकारी दिए। पशुपति क्षेत्रमा पाइने सेवा सुविधाका विषयमा नागरिक बडापत्र राखिने जानकारी पनि उनले दिए।

घाट सेवामा आउनेसँग पैसा लिने गरिएको गुनासा आएकामा छानबिन गरेर दोषी पाइएका व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता कोषले जनाएको छ । पशुपति क्षेत्रका बारेमा बाहिर राम्रो सन्देश नगएका विषयमा पनि कोषले अध्ययन गर्ने भएको छ । पशुपति क्षेत्रका गतिविधिलाई पारदर्शी बनाउन आफू कोषाध्यक्ष भएका बेला सबै आर्थिक गतिविधि बैङ्किङ प्रणालीमा लगेको, पशुपतिनाथका नाममा रहेका सम्पत्ति एवं जग्गाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गरी राम्रा काम गरिएको जानकारी सदस्य सचिव थापाले दिए।

पशुपतिनाथका नाममा रहेको सम्पत्ति र जग्गाको छानबिन कोषको तहबाट गर्दा स्रोत, साधन र अधिकार सीमिततका कारण सबै सम्भव नभएकाले सरकारले उच्चस्तरीय छानबिन गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ । त्यो सुझाव छिटो कार्यान्वयन गरिनुपर्ने सदस्य सचिव थापाको भनाइ थियो । पशुपति क्षेत्रको गुरुयोजना गत पुस ८ गते कोष सञ्चालक परिषद्बाट पारित गरी मन्त्रिपरिषद्मा लैजान मन्त्रालयमा पेस गर्ने तयारी गरिएको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएर पुनःनिर्माण गरिनुपर्ने पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ वटाको पुनःनिर्माण सम्पन्न भएको छ । हाल ११ वटा सम्पदाको पुनःनिर्माण भइरहेको छ । बाँकी १६ सम्पदाको पुनःनिर्माण हुन बाँकी रहेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.