www.tandavnews.com
Fact ~ In search of truth

रास्वपा सभापति लामिछानेद्वारा उम्मेदवारी दर्ता

चितवन ।
आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन्।

आज बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सीता ज्ञवाली र समर्थकमा विक्रम श्रेष्ठ छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा होस् भन्ने चाहना रहेको बताए । प्रतिनिधिसभाको निर्वाचन भएको चार महिनापछि निर्वाचन हुनु दुःखद् भएको बताए। आफू निर्वाचनका लागि उत्साहित भएको उनको भनाइ थियो । निर्वाचनलाई निर्वाचनकै रुपमा लिएको बताउँदै उनले आफू निर्वाचित हुनेमा आशावादी र उत्साहित रहेको बताए।

Batas

मुलुकको समृद्धि, सुशासन, राजनीतिमा एउटा शुद्धता, आगामी पुस्ताको सुन्दर भविष्य कोर्न तथा लोकतन्त्रका लागि आफ्नो उम्मेदवारी रहेको उनको दाबी छ । लामिछानेले उपचुनाव हुनुमा आफूले पनि नैतिक जिम्मेवारी लिने बताए। “उपचुनाव हुनुमा मेरो भागमा परेको जिम्मेवारी म लिन तयार छु”, उनले भने।

नागरिकता प्रकरणमा आफू उम्मेदवार हुन नपाउने भन्ने तर्क गलत भएको भन्दै उनले भने, “मैले अमेरिकाको नागरिकता सन् २०१८ मै त्यागेको हो । संविधानमा त्यसरी त्यागेको मितिले तीन महिना भनेकाले त्यसले मलाई असर गर्दैन ।”

उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गर्ने उहाँ पहिलो भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। लामिछाने यसअघि गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।

नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाले उनको सांसद पद गुमेपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । गत चुनावमा लामिछानेले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले  १५ हजार ९९ र नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलको १४ हजार छ सय ४९ मत प्राप्त गरेका थिए।

चितवन क्षेत्र नं २ मा यसपटक एक लाख २४ हजार छ सय ९५ जना मतदाता छन् । उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गर्नेछन् ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.