www.tandavnews.com
Fact ~ In search of truth

चन्दा सङ्कलन गरेर महादेव माध्यमिक विद्यालय पुनःनिर्माण

अभियानका क्रममा रु १ करोड ५० लाख सहयोग सङ्कलन

बेनी।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण बनेको थियो ।

विद्यालयको स्वर्ण जयन्तीका अवसर पारेर विस २०७५ देखि सुरु भएको विद्यालय भवन पुनःनिर्माण अभियानअन्तर्गत प्रवासमा रहेका बेगखोलावासीको नेतृत्वमा रु १ करोड ५० लाख सहयोग जुटाएर भवन नयाँ बनाइएको हो ।

देश तथा विदेशमा छरिएर रहेका बेगखोलावासी बेगखोला कल्याणकारी समाजमा गोलबद्ध बनेर विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका थिए । अभियानका क्रममा रु १ करोड ५० लाख सहयोग सङ्कलन गरेर विद्यालयको सातकोठे भवन पुनःनिर्माण गरिएको भवन पुनःनिर्माण समितिका संयोजक योगकुमार फगामीले जानकारी दिए।

Batas

“यो अभियानमा बेगखोला बाहिरका सहयोगदाताले समेत आर्थिक सहयोग गर्नुभएको छ, कोभिडलगायतका विविध कारणले भवन कार्य निर्धारित समयमा सम्पन्न हुन सकेन, समग्रमा देश तथा विदेशमा रहेका बेगखोलावासीको एकता र सहकार्यले जीर्ण भवनबाट सुविधासम्पन्न भवन सम्भव भएको हो”, उनले भने।

विद्यालयमा इन्द्रबहादुर , पदमबहादुर र यमकुमार पुर्जाका तीन दाजुभाइका परिवारले करिब रु १४ लाख लगानीमा कम्प्युटर कक्षाको लागि छुट्टै थप कोठा निर्माण गरिदिएका छन्। सहयोगदाताले मन खोलेर सहयोग गरेकै कारण पुरानो र जीर्ण भवनको ठाउँमा सुविधासम्पन्न भवन निर्माण हुन सम्भव भएको पुनःनिर्माण अभियानका सचिव नगेन्द्र पुर्जा (नक्कु)ले जानकारी दिए। अभियानमा आर्थिक सहयोग गर्ने दाताको विद्यालयमा शिलालेखमा अभिलेख राखिएको छ ।

विद्यालयमा बेगखोलावासीले चन्दा सङ्कलन गरेर निर्माण गरेको सातकोठे कक्षाकोठा भवनबाहेक पुनःनिर्माण प्राधिकरणको शिक्षा एकाइमार्फत रु ३४ लाख लगानीमा तीनकोठे र ६० लाख लगानीमा चारकोठे थप भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक दुतबहादुर गर्बुजाले जानकारी दिए।

प्रवासी बेगखोलावासीको नेतृत्वमा आर्थिक सङ्कलन गरेर र सरकारी तवरबाट समेत गरी कक्षाकोठा भवन निर्माण सम्पन्न भएपछि विद्यालयको नियमित पठनपाठनसमेत सहज भएको प्रअ गर्बुजाले बताए। यस विद्यालयले कक्षा ४ देखि नै कम्प्युटर विषयको समेत पठनपाठन गराउँदै आएको छ ।

रोजगारी, पेसा, व्यवसाय र अध्ययनका लागि विदेश र स्वदेशका विभिन्न ठाउँमा पुगेका बेगखोलावासीले आफ्नो गाउँको शिक्षा, सडक, खेलकुद क्षेत्रको विकासका लागि सहयोग भित्र्याउँदै आएका छन् ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.