www.tandavnews.com
Fact ~ In search of truth

त्रिवि क्षेत्रबाट बल्ल पासोमा पर्यो चितुवा

कीर्तिपुर।
एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ ।

विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार गत चैत २५ गते परिसरका प्रहरी सहायक निरीक्षक (असई) लाई समेत आक्रमण गरेको थियो । करिब एक महिनाअघि त्रिवि सडकबाट कीर्तिपुरतर्फ जाँदै गरेको मोटरसाइकलसँग जुधेको थियो ।

Batas

त्रिवि केन्द्रीय क्याम्पसका प्रार्चाय ज्ञानेन्द्र राईका अनुसार करिब एक वर्षअघिदेखि जनस्तर र त्रिवि कर्मचारीले चितुवाको जोखिमबारे कुरा उठाउँदै आएका थिए । त्यसपछि वन्यजन्तुसम्बद्ध निकायबाट पासो ल्याएर राखिएको थियो । तत्कालीन समयमा सो बाघ पासोमा नपरेपछि केही समय पासो अन्यत्र लगिएको थियो । केही समयअघि फेरि पासो थापिएको उनले बताए।

त्रिवि चितुवाको आवतजावत हुनुमा नजिकको जङ्गल, त्रिवि परिसरका विभिन्न स्थानमा रहेका झाडी भएको प्राचार्य राई बताए। “यहाँ छाडा छोडिएका बहर र कुकुरका कारण पनि तिनको सिकार गर्न चितुवा आउँछन्, यसले गर्दा मानवसँग द्वन्द्व हुने खतरा बढेको छ”, उनको भनाइ छ ।

पासोमा परेको चितुवाबारे वन्यजन्तुसम्बन्धी निकायमा खबर गरिसकिएको र कीर्तिपुर नगरपालिका वडा नं १० का अध्यक्ष नरेश महर्जनसमेतको रोहवरमा बुझाइने जानकारी पनि प्राचार्य राईले दिए। चितुवाको आवतजावत कम गराउन त्रिवि परिसरका झाडी फडान गर्ने र मानिसको आवजजावत हुने सबै स्थानमा बत्ती जडान गर्ने कार्य भइरहेको पनि उनले बताए।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.