www.tandavnews.com
Fact ~ In search of truth

बाली जोगाउन ‘बाँदर उद्यान’

बलेवा ।
जैमिनी नगरपालिका ८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरुआत गरिएको छ ।

धार्मिक र ऐतिहासिक स्थलको पर्यटनबाहेक यहाँ जैमिनी नगरपालिकाका बाँदर संकलन गरी फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो ।

बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल थालिएको हो । जैमिनी नगरपालिका र डिभिजन वन कार्यालय बागलुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको दुःख हटाउन संरक्षण पार्क बनाउने योजना सञ्चालन गर्ने सहमति भएको छ । भेलाले बाँदर पार्क बनाउन आवश्यक सहयोग गरिदिन गण्डकी प्रदेश सरकार र संघीय सरकारलाई लेखी पठाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए ।

Batas

भेलामा नगर प्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा, जिल्ला वन अधिकृत मुकुन्द अधिकारी, सबै वडाध्यक्ष र कार्यपालिका सदस्य तथा स्थानीय सहभागी थिए । उनीहरूले जैमिनी नगरपालिकाभित्रको बसाइँसराइ रोक्न बाँदर आतङ्क रोक्नुपर्ने धारणा राखे ।

‘हामीलाई बाँदरले धेरै दुःख दिएको छ, बालीनाली खाएकोे छ, नष्ट गरेको छ जसका कारण घरमा खाने केही बाँकी छैन’, स्थानीय दुर्गाबहादुर थापाले भने । हरेक घरमा बाँदरको हेरालो राख्दा पनि बाली जोगाउन नसकिएको उनको गुनासो छ ।

बाँदरको समस्या भएपछि कतिपय बसाइ सरेका छन् । घर रित्तिन थालेको र खेतीपाती लगाउने क्रम घटेपछि बस्तीमा छिरेर बाँदरले आतंक मच्चाउने गरेको किसानको गुनासो छ । यहाँ बनाउने योजना गरिए अनुसार बाँदरलाई संरक्षण गरेर राख्ने, जंगलमै खाने व्यवस्थापन गर्दा समुदायमा खेतीपाती जोगाउने समस्या नहुने सहभागीको भनाइ थियो ।

त्यसका लागि धेरै बजेट लाग्ने अनुमान छ । नगरपालिकाले डिभिजनसँगको सहकार्यमा डिपिआर बनाउने, लगानीका बाटा खोज्ने र दीर्घकालीनरुपमा बाँदर नियन्त्रण गर्ने लक्ष्य राखिएको छ । ‘बाँदर नियन्त्रण गर्न सकियो भने कम्तीमा बसाइँसराइ रोक्न सकिन्छ’, उपप्रमुख हरिहर शर्माले भने, ‘दिनदिनै बसाइ जाने अवस्था भएमा गाउँमा बिकास निर्माण पुग्दा बस्ती रित्तो हुनेछन् ।’

नगर प्रमुख नरबहादुर पुनले त बाँदरको संरक्षण गरेर पर्यटनमा जोड्नुपर्ने धारणा राखे । उनले बाँदरबारे अध्ययन गर्न चाहने विद्यार्थीका लागि अध्ययन केन्द्रको रुपमा पनि विकास गर्न सुझाए । राम्रो संरक्षण भएमा छिमेकी पालिकाबाट समेत बाँदर ल्याएर राख्ने र पालिकाले राजस्व संकलन गर्ने, आम्दानीको दायरा बढाउने अवस्था आउने उनको भनाइ छ ।

कालीगण्डकी करिडोरको छिस्ती सडकदेखि ११ किमी यात्रा गरेपछि पुरानो गाउँ पुगिन्छ । करिडोर कालोपत्र भएपछि यहाँ पुग्ने सडकस्तरीय बनाउँदा पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने स्थानीयको मत छ । पालिकाले लगानी गरेर स्तरीय सडक बनाउने र संरक्षणको अभियानबारे प्रचार गर्दा तराई झरेका स्थानीय र उनीहरूको संगतबाट गर्मी छल्न आउने पर्यटक प्रसस्त हुने अनुमान छ ।

यहाँ हरेक वर्ष जेठमा मेलासमेत लाग्छ । भलिबल लगायतको खेलमा धेरै टिमले भाग लिन्छन् । यहा धार्मिक रुपमा मठ, मन्दिर पनि छन् । हाँडीकोटबाट पनि यो स्थान देखिन्छ । त्यसैले पर्यटन प्रवद्र्धनका क्रियाकलाप सञ्चालन गर्दा पुरानो गाउँको महत्व बढाएर नगरको आम्दानीको स्रोतसमेत बनाउन सकिने बताइएको छ ।

नगरपालिकाले आगामी वर्ष बजेट र कार्यक्रममार्फत पुनारो गाउँको सम्बोधन गर्ने जनप्रतिनिधिले बताउनुभयो । पुरानो गाउँ राष्ट्रिय वन क्षेत्र हो । यहाँ स्थानीयले उपभोग गर्दै आएका ४ सामुदायिक वनसमेत जोडिएका छन् ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.