www.tandavnews.com
Fact ~ In search of truth

सरकार मेरा लागि ठूलो कुरा होइन : प्रधानमन्त्री दाहाल

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन् ।
Batas
पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता धनिराम (डिआर) पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले सरकार सुशासन कायम गर्न दृढतापूर्वक अगाडि बढिरहेको बताए।
उनले भने, “कतिपयले आशङ्का गरेको देख्छु, सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो ।” भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाउँदै उनले कहीँ सम्झौता नहुने र नझुकिँदैन प्रतिबद्धता व्यक्त गरे ।
नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन आफूहरु क्रियाशील रहेको जनाउँदै अध्यक्ष दाहालले समाजवादी क्रान्ति सम्पन्न गर्न आफूहरु समाजवादी मोर्चा बनाउने प्रक्रियामा केन्द्रित भएको बताए ।
डिआर पौडेलको आकस्मिक निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै उनले आफ्नो जिम्मेवारीलाई पौडेलले निरन्तर पूरा गर्दै आएको स्मरण गरे । प्रधानमन्त्री दाहालले भने, “उहाँलाई जनताको बीचमा स्थापित गराउन मैले शिक्षामन्त्रीको जिम्मेवारी दिएको थिएँ । उहाँले आफ्नो जिम्मेवारीमा राम्रो पनि गर्नुभयो ।”
पछिल्लो समय आन्दोलनका उपलब्धिमाथि प्रहार भइरहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएका बताए । “यसका विरूद्ध सङ्घर्ष गर्दै आन्दोलनका उपलब्धिको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।  कम्युनिस्ट मात्रै इमानदार र सक्षम हुन्छन् भन्ने पुष्टि गर्नुछ, तसर्थ सरकारको मोर्चालाई सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्छ”, प्रधानमन्त्री दाहालले भने ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हरहालतमा सरकारलाई सफल बनाउनु सबैको दायित्व भएको बताए । समृद्धिको यात्रालाई तीव्र पार्नुपर्नेमा जोड दिँदै उनले जनआकाङ्क्षा पूरा गर्न वर्तमान सरकार सफल हुनुपर्ने दाबी गरे ।
कार्यक्रममा माओवादीका उपाध्यक्षद्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव हरिबोल गजुरेल र गिरिराजमणि पोखरेललगायत नेताले दिवङ्गत नेता पौडेलप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

 

रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.