www.tandavnews.com
Fact ~ In search of truth

मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण

दमौली ।

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ । यसअघि गत जेठ १५ गते मर्मत गरी सञ्चालनमा ल्याइएको पाँच उपकरण पुनः बिग्रिएको हो ।

यसअगाडी वैशाखदेखि उक्त उपकरण बिग्रिएर बसेको थियो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका प्राविधिक आएर उपकरण मर्मत गरिदिए पनि फेरि समस्या आएको दमौली अस्पताल मिर्गौला केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए ।

Batas

उनले भने, “बल्ल बल्ल उपकरण बनेको थियो, फेरि समस्या आएर बिग्रियो । अहिले चार वटा मात्रै उपकरण सञ्चालनमा छ ।” पाँच मर्मतसहित यसअघि नौ वटा उपकरण सञ्चालनमा रहेकामा अब चार वटा उपकरणबाट मात्रै सेवा प्रवाह भइरहेको केन्द्र प्रमुख पण्डितले जानकारी दिए ।

उपकरण थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ । स्वास्थ्य मन्त्रालयले दमौली अस्पताललाई दुई नयाँ उपकरण पठाएको छ । प्रदेश सरकारमार्फत दमौली अस्पतालमा दुई उपकरण आइपुगेपनि जडान हुन बाँकी रहेको छ ।

चार उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने अवस्था रहेको छ । केन्द्रले दैनिक बिहान ७ बजेदेखि राति ११ बजेसम्म डायलासिस सेवा सञ्चालन गरेको छ ।

केन्द्रमा हाल डायलासिस सेवा लिने कूल सङ्ख्या ५० जना रहेका छन् तर अझै ३० मिर्गौला पीडित डायलासिसका लागि पालो पर्खिदै छन् । तनहुँका विभिन्न ठाउँका मिर्गौला पीडितले मिर्गौला उपचार केन्द्रमा डायलासिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् । नियमित रुपमा डायलासिस गराउनुपर्ने उनीहरुले हाल पोखरामा डायलासिस गरिरहेका छन् ।

उपचार केन्द्रमा डायलासिस गराइरहेका मिर्गौला पीडितले मिर्गौल प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गए मात्रै नयाँले मौका पाउने अवस्था रहेको पण्डितले बताए । “ठाउँ खाली भए मात्रै नयाँलाई मौका दिने हो, कि उहाँहरुले मिर्गौला प्रत्यारोपण गर्नुप¥यो कि अन्यत्रै जिल्लामा स्थानान्तरण भएर जानुप¥यो”, उनले भने, “ठाउँ खाली भएपछि नाम दर्ता गरेकालाई यहाँ डायलासिसको व्यवस्था मिलाउँछौँ ।”

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलासिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुई सय २८ ले डायलासिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौला पीडितले पनि डायलासिस सेवा लिइरहेका छन् ।

हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो ।

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.