www.tandavnews.com
Fact ~ In search of truth

सुशासन र समृद्धिका लागि शान्तिपूर्ण क्रान्ति चाहिन्छ : प्रधानमन्त्री

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, न्याय र समृद्धिका शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको धारणा राखेका छन् ।
Batas
चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले मुलुकका देखिएको बेथिति, अराजकता र लोकतन्त्रमाथि देखिएको खतराको अन्त्य सामान्य सुधारबाट सम्भव नहुने भनाइ व्यक्त गरे ।
“लोकतन्त्रमाथि खतराको घन्टी बजिरहेको समयमा लामो इतिहास भएका राजनीतिक दलप्रति जनताको भरोसा र विश्वास जगाउन आवश्यक छ । यसका लागि नेपाली कांग्रेससँग सहकार्य आवश्यक ठानेरै म यो गठबन्धनलाई बलियो बनाउन लागेको हुँ ।” उनले भने ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका दाहालले भने, “कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र मेरो कुराकानीबाट तत्कालीन विद्रोही माओवादी जनयुद्धबाट शान्तिपूर्ण सङ्घर्षमा आयो र संयुक्त जनआन्दोलनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो । यस गणतन्त्रलाई बचाउनु हामी सबैको कर्तव्य हो । म बौद्धिक वर्गलाई पनि यही आग्रह गर्दछु ।”
उनले सामाजिक सञ्जालमा गाली गरेर नभई राष्ट्र निर्माण र लोकतन्त्रको रक्षाका लागि आत्मसमीक्षासहित समर्पित भई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउँदै यस सन्दर्भमा कोइरालाको उच्च साहस र दृढ इच्छाशक्तिबाट प्रेरणा मिल्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “कोइराला मेरा लागि जीवनभर प्रेरणाका स्रोत रहिरहनुहुनेछ । उहाँ मेरो अभिभावक हुनुहुन्थ्यो । उहाँप्रति मेरो अगाध आस्था र विश्वास रहीरहनेछ ।”
उनले राष्ट्र निर्माणका लागि शिक्षा क्षेत्र निर्णायक तत्व भएको उल्लेख गर्दै विश्वविद्यालय ऐनको तयारीका काम भइरहेको अवगत गराए ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.