www.tandavnews.com
Fact ~ In search of truth

माओवादीले केन्द्रीय समितिको आकार बढाउने, प्रत्यक्ष प्रसारण नगर्ने

काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको आकार बढाउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले मौजुदा केन्द्रीय समितिलाई समावेशी बनाउने गरी केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको हो ।

यसका लागि माओवादीले आजै विधान संशोधन गर्नेछ । विधान संशोधनपछि मात्रै केन्द्रीय समितिमा नयाँ सदस्यले सहभागिता जनाउन पाउनेछन् । बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले विधान संशोधन गरेर केन्द्रीय समिति विस्तार गरिने निर्णय भएको जानकारी दिए । अहिले माओवादीको केन्द्रीय समिति पाँच सय ८३ सदस्यीय छ । यसमा तीन सय ८५ पूर्ण र एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य छन् ।

Batas

विधान संशोधन गरेर महिला, दलित, युवा र पुराना नेता कार्यकर्तालाई केन्द्रीय समितिमा समेट्ने माओवादीको तयारी छ । “को–को ल्याउने भन्ने टुङ्गिएको छैन”, उनले भने । स्थायी समिति बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकका बारेमा छलफल भएको थियो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक अवस्थाका बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।

अपराह्न १ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले सरकारको कामकारबाही, पार्टीको स्थिति तथा आगामी दिनमा के गर्ने भन्ने दृष्टिकोणसहितको प्रतिवेदन अध्यक्षले पेस गर्ने कार्यसूची तय भएको प्रवक्ता महराले जानकारी दिए ।

“बैठकमा अध्यक्षबाट प्रतिवेदन पेस, वर्तमान राजनीतिक अवस्थाका बारेमा संक्षेपमा सम्बोधन गर्ने काम हुन्छ”, उनले भने, “त्यसपछि सबै केन्द्रीय सदस्यले बोल्ने क्रम सुरु हुन्छ ।” सकेसम्म छोटो समयमा आफ्ना धारणा राख्ने र सबैले धारणा राख्न सक्ने वातावरण निर्माण गरिने उहाँले बताउनुभयो ।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता रहने छ ।

माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण भने नगर्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको प्रवक्ता महराले जानकारी दिए । यसअघि पदाधिकारी बैठकले केन्द्रीय समितिको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो ।

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.