www.tandavnews.com
Fact ~ In search of truth

सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री

गोरखा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका छन् ।

जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (बैरागी) को २४ औँ स्मृतिसभालाई सम्बोधन गर्न आज गोरखा आइपुगेका प्रधानमन्त्री दाहालले गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आयोजित सभालाई सम्बोधन गर्रदै सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

Batas

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले माओवादीले उठाएका मुद्दा र जनताको चाहना पूरा हुन अझै पनि बाँकी रहेको बताए । “जनयुद्धका क्रममा उठाएका सबै मुद्दा पूरा भइसकेका छैनन्”, उनले भने, “शान्तिपूर्ण ढङ्गबाट बाँकी रहेका मुद्दालाई स्थापित गर्दै जाने दृढ सङ्कल्पका साथ लागिरहेका छाँै ।”

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेपछि जनयुद्ध र जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताए । “यसपटक सरकारको नेतृत्वमा पुगेपछि मैले नै जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदलाई राष्ट्रिय सहिदको घोषणा गरिसकेको छु”, उनले भने, “राजपत्रमा प्रकाशित गरी सहिद घोषणा र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणाले जनयुद्धलाई सम्मान गर्ने वातावरण बनेको छ ।”

प्रधानमन्त्री दाहालले शान्ति सम्झौताको केही काम पूरा हुन अझै बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पु¥याउनेतर्फ सरकार लागि रहेको बताए। उनले सत्यनिरुपण तथा बेपत्तासम्बन्धी विधयेक पारित भएपछि देशभर सहिद तथा बेपत्ता परिवारको सम्मान हुनेसमेत उल्लेख गरे ।

विसं २०५६ भदौ २३ गतेका दिन बिरामी अवस्था रहेका नेता वाग्लेलाई पार्टी कामका सिलसिलामा रहनुभएका बेला साविकको गोरखाको गाँखु गाविसमा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरिएको थियो । विसं २०४७ देखि शिक्षण पेसा छोडेर कम्युनिष्ट राजनीतिमा होमिएका नेता वाग्ले माआवादीले जनयुद्धको थालनी गरेसँगै भूमिगत भएका थिए ।

सत्र वर्ष शिक्षण सेवामा बिताएका नेता वाग्ले पार्टीभित्र वैचारिक, साङ्गठनिक र दृढ सङ्कल्प भएको नेताका रुपमा चिनिन्थे ।

रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.