www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाका एक सय ३५ घरमा धारा

स्याङ्जा ।

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्याङ्जाका प्रत्येक घरमा खानेपानीको धारा पुगेको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौर, बद्धचौर र जामुनेका १३५ घरधुरीलाई लक्षित गरी ‘बेलचौर लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना’ मार्फत प्रत्येक घर–घरमा खानेपानीको धारा पु¥याइएको खानेपानी आयोजना समितिका अध्यक्ष निमप्रसाद खनालले बताए ।

“गाउँभन्दा २४० मिटर तल रहेको कालीगण्डकी नदी किनारमा डिप बोरिङमार्फत ७२० मिटर लामो पाइपबाट गाउँमाथि रहेको ट्याङ्कीमा पानी तानेर खसालिएको छ” समितिका अध्यक्ष खनालले भने, “गाउँभन्दामाथि एक लाख लिटर क्षमताको मुुख्य ट्याङ्कीमा पानी जम्मा गरेर ३५ वटा च्याम्बरमार्फत १३५ घरधुरीलाई खानेपानी वितरण गरिएको छ ।”

खानेपानी आयोजना सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारबाट दुई करोड २९ लाख, गल्याङ नगरपालिकाबाट १८ लाख र स्थानीयवासीको जनसहभागिता २० लाख ९१ हजार गरी कूल दुई करोड ६७ लाख ९१ हजारको लागतमा उक्त खानेपानी योजना निर्माण सम्पन्न भएको अध्यक्ष खनालले बताए ।

विसं २०७४ चैतबाट शुरु भएको आयोजना २०७६ असार मसान्तमा निर्माण सम्पन्न भई हिजो सोमबारबाट सञ्चालनमा आएको हो । “यहाँ खानेपानी तथा बस्तुभाउका लागि पानीको निक्कै समस्या थियो”, अध्यक्ष खनालले भने, “बिहानको समय पिउने पानी तथा बस्तुभाउका लागि पानीको जोहो गर्न समय छुट्ट्याउने स्थानीयवासीका लागि अब पिठँयूमा पानी बोक्नुपर्ने समस्या टरेर गएको छ भने फुर्सदको समयलाई अन्य उत्पादनमूलक कार्यका लागि खर्चिने भएका छन् ।” रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.