www.tandavnews.com
Fact ~ In search of truth

धान बेच्न पालो कुर्दै वीरगञ्जका किसान

वीरगञ्ज ।

संघीय सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ ।

मूल्य निर्धारणसँगै यसपालि वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्ने सोच बनाएका छन् ।

Batas

यसपालि सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निजीस्तरका गल्ला व्यापारीभन्दा बढी राखेकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगञ्जस्थित कार्यालयमा धान बेच्ने किसानको लर्को लागेको छ । बजार भाउभन्दा प्रतिक्विन्टल ३७३ रुपैयाँ १६ पैसा बढी मूल्यमा कम्पनीले धान खरीद गर्ने भएपछि धान बेच्न कार्यालयमा आएको अर्का किसान शेषमन पण्डितको भनाइ छ ।

‘धान बोकेर गोरुगाडा, ट्र्याक्टरसहित किसान एकाबिहानै कार्यालयमा आइपुग्ने गरेकाले कार्यालय परिसरमै धान खरीद गर्न थालिएको छ’, शाखा प्रमुख नरनाथ अधिकारीले भने, ‘यस वर्ष राम्रो मूल्य पाएकै कारण सोचेभन्दा धेरै बढी किसान आउने गरेका छन् ।’

सरकारले यस वर्ष सोना मन्सुली धान प्रतिक्विन्टल दुई हजार ६७३ रुपैयाँ १६ पैसा र जिरा मसिनो धान प्रतिक्विन्टल तीन हजार २० रुपैयाँमा खरीद गर्ने मूल्य तोकेको छ ।

यस वर्ष सोना मन्सुली १५ हजार तथा जिरा मसिनो धान पाँच हजार गरी २० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य राखेकामा बुधबारसम्म सोना मन्सुली धान २६१ क्विन्टल ९६ केजी तथा जिरा मसिनो धान पाँच क्विन्टल ८५ केजी खरीद गरिसकेको कार्यालयका वरिष्ठ सहायक मुनिलाल कुशवाहाले बताए।

सरकारले यस वर्ष धान खरीदको मूल्य बढाएपछि बारा तथा पर्साका किसान धान बेच्न सो कार्यालयमा आउने गरेका छन् । व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नभएको पाइएकाले कार्यालयले किसानको धान मात्र खरीद गर्ने गरेको छ ।

कम्पनीको वीरगञ्ज कार्यालयले ठाउँठाउँमा धान खरीद गर्ने व्यवस्था नगर्दा ग्रामीण क्षेत्रबाट धान बिक्री गर्न आउने किसानलाई ट्राफिक प्रहरीबाट सास्ती भोग्नु परेकोले ठाउँठाउँमा काटा राख्नुपर्ने पर्सा हरिहरपुर विर्ताका किसान सञ्जयप्रसाद कुर्मीको भनाइ छ ।

कार्यालयले चालू आर्थिक वर्ष २०७५÷०७६ मा १५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएकामा २४ हजार ५८७ क्विन्टल धान खरीद गरेको थियो । कार्यालयले आव २०७४÷०७५ मा आठ करोड २५ लाख मूल्य बराबरको तीन हजार मेट्रिक टन सोनामन्सुली र जिरा मसिनो धान खरीद गरेको थियो ।

अमेरिकी सरकारले एक हजार मेट्रिक टन धान भण्डारण गर्ने क्षमताको एउटा गोदाम बनाएपछि कार्यालयसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच वटा गोदाम रहेको छ । कार्यालयसँग अहिले अघिल्लो वर्षको सोनामंसुली, जिरा र जापानी चामल गरि १ हजार ९ सय क्विन्टल ३३ केजी सोना मन्सुली चामल मौज्दात अवस्थामा छ ।

कार्यालयले धान खरीद गरी उत्पादन गर्ने चामल आवश्यकताअनुसार गोरखा, काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा, डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ ।

विगत वर्षसम्म निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयलाई लक्ष्य पूरा गर्न धौधौ परिरहेको थियो तर यस वर्ष धानको खरीद गर्ने मूल्य सरकारले १० प्रतिशत बढाएपछि धान उत्पादक किसानले आफ्नो धान कम्पनीको कार्यालय वीरगञ्जमा ल्याएर नगदमै धान बेच्ने गरेकोले तोकिएको लक्ष्य समयमै पूरा हुने विश्वास कार्यालयले लिएको छ ।

पर्सा जिल्लामा यस वर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरेको जनाइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.