सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज ।
उनलाई आफू अभिनित फिल्म ‘टलकजंग भर्सेस टुल्के’ खुबै मन पर्छ ।
‘टुल्के’ पात्रमा देखिएका खगेन्द्र लामिछाने फिल्ममा पात्रको अप एन्ड डाउन हुनु नै आफूलाई मन पर्ने कारण खुलाए । फिल्ममा उनले कथा समेत लेखेका हुन् । यसो त उनी फिल्ममा कथा आफ्नै भएमात्र काम गर्छन् ।
केही महिना अघि राजधानीमा ‘जय भोले’ को घोषणा कार्यक्रममा भनेका थिए, ‘ ‘राम्रो स्क्रिप्ट ल्याउनुस् म लेख्नै छाडिदिन्छु । मैले यसो भन्दा राम्रो स्क्रिप्ट कसैले लेख्दैनन् भन्न खोजेको होइन तर म कहाँ चाहिँ राम्रो स्क्रिप्ट आइपुगेका छैनन् ।’
सबै भूमिकामा फिट देखिने लामिछाने उत्तिकै सरल पनि छन् । ‘बधशाला’ बाट फिल्ममा डेब्यु गरेका उनी ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद’, ‘धनपति’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।
उनी अभिनीत नयाँ फिल्म ‘डमरुकोे डण्डीबियो’ बैशाख २१ बाट प्रदर्शनमा आउँदैछ । यसैको प्रचारको लागि पोखरा आएका लामिछाने ताण्डव साप्ताहिकसँग केही मिनेट गफिए :
पहिलो अभिनय
स्याङजाका लामिछाने २०५६ सालमा पोखरा हान्निए । खास कारण केही थिएन, उच्च शिक्षाको लागि मात्र । तर, यहाँ आएर उनले नाटकमा खेल्ने अवसर पाए ।
त्यतिबेलासम्म नाटक कस्तो हुन्छ उनलाई थाहा नै थिएन, तैपनि उनी खेलिदिए । पश्चिमाञ्चल क्षेत्रीय नाटक प्रतियोगितामा उनको नाटकले दोस्रो स्थान प्राप्त ग¥यो । त्यसपछि भने उनलाई नाटकको ह्याङओभरले छाड्दै छाडेन ।
नाटककार बन्ने बाटोमा लागे । पोखरामा अनुप बरालबाट तालिम लिए ।
नाटक गर्दै जाँदा ‘बधशाला’ फिल्म संयोगले खेल्न पाए । योजना बिना नै फिल्ममा खेलेका उनी पछि नाटक र फिल्म दुवैलाई सँगै लैजाने दाउमा कस्सिए ।
‘गोलार्धको कालो आकाश’ उनले अभिनय गरेको पहिलो नाटक हो । जहाँ उनले ‘सूत्रधार’ को पात्र निभाएका थिए । एक दिनमात्र मञ्चन भएको नाटक नै उनको नाटक र अभिनय प्रतिको प्रेरणा बन्यो ।
अभिनयका सम्बन्धमा केही जान्ने भएपछि काठमाडौं जानुपर्छ भन्ने ठाने । त्यहाँ उनले सुनिल पोख्रेलको गुरुकुल थिएटरमा नाटक सिके । नाटक गर्दै जाँदा ‘बधशाला’ फिल्म संयोगले खेल्न पाए । योजना बिना नै फिल्ममा खेलेका उनी पछि नाटक र फिल्म दुवैलाई सँगै लैजाने दाउमा कस्सिए ।
फिल्म ‘बधशाला’ मा मुख्य भूमिका पाएपनि धेरैजसो समय कालो बर्कीले अनुहार छोप्नुपर्ने भएकोले दर्शकले उनलाई उतिसारो मार्क गरेनन् । उनलाई बधशाला भन्दा पनि टकलजंग भर्सेस टुल्के नै दर्शकको लागि नोटिसेवल फिल्म बन्यो ।
क्यामरा अघि फिल्म ‘बधशाला’ मा पहिलो पटक फेस गर्दा अफ्ठ्यारो फिल भएको उनी सुनाउँछन् । ‘नाटकबाट सिधै क्यामरा अघि फेस हुँदा अफ्ठ्यारो त हुन्छ नै तर फिल्मका निर्देशक मनोज पण्डित साथी र कलाकारहरु दहयाङ राई, सौगात मल्ल चिनेको हुँदा पछि सहज बन्दै गयो ।’
हिरो कि अभिनेता
म कहाँ हिरो हो र ? उनले प्रतिप्रश्न गर्दै भने, ‘हिरो हुन त चिप्लो–चाप्लो अनुहार, हलक्क हुर्केको ज्यान अनि हट्टाकट्टा पो हुनुपर्छ ।’ उनको यो कटाक्ष नेपाली चलचित्रले वर्षौंदेखि पछ्याउँदै आएको ‘बलिउड ट्रेन्ड’ प्रति लक्षित थियो ।
उनी आफू हिरो भन्दा पनि अभिनेता भएको बताउँछन् । ‘हिरो र अभिनेताको परिभाषा अलिक फरक छ । हिरो भन्ने बित्तिकै हामीले बुझ्ने दर्शकको भाषामा अलिक स्माट बडी भएको हुनुपर्छ । म कहाँ त्यस्तो छौ र ’ उनले हाँस्दै भने ।
बालकपन
बालक छँदा कहिल्यै कलाकार बन्छु भन्ने सपना देखेनन् । सामान्य किसानी परिवारमा जन्मे पनि जीवनयापन राम्रै हुने गरेको सम्झन्छन् ।
‘त्यस्तो कम्लिकेटेड कहिल्यै भएन् । मेरो त्यस्तो संघर्षको चरण पार गरेर आएको होइन्,’ उनले सुनाए । स्कुलकोे पढाईमा मध्यम रहे पनि ‘थर्ड’ हुन्थे ।
नाटक र फिल्म
जिन्दगीमा काम गर्दै जाँदा खेरी नाटक र फिल्म एक्टरको लागि करिबकरिब धेरै चिज सिमिलर हुने उनको अनुभव छ । ‘नाटक र सिनेमामा अभिनय गर्नु तात्विक भिन्नता हुँदैन् ।
मज्जा चाहि प्लेमा आउछ । तर अभिनय गर्नी हो सिनेमा भएनी नाटकमा भएनी,’ उनी बताउँछन् ।
साहित्यिक यात्रा
चलचित्रमा साहित्य हुँदै रंगमञ्चबाट आएको लामिछाने आफ्नो कलाको उद्गम बिन्दु साहित्य मान्छन् । अल्लारे उमेरदेखि नै उनको साहित्यमा रुचि थियो ।
पोखरामा क्याम्पस पढ्न आएपछि ‘परदेशीएका नेपाली’ नामक उपन्यास पनि लेखेका थिए । त्यसपछि लामो समय नाटक लेखेका लामिछानेले गत वर्ष ‘फुलानी’ नामक कथा संग्रह प्रकाशनमा ल्याए ।
सिनेमा र नाटक लेखेका लामिछाने मनको डोरीले जता लान्छ उतै लेख्ने गरेको बताउँछन् ।
‘जे कुराले मन छुन्छ त्यही लेख्छु, लेख्दा फिल्म नबन्ने रैछ भने नाटक बनाउँछु, राम्रै भएछ भने पुस्तक लेख्छु,’ उनले पोखराका पत्रकार माझ भनेका थिए ।
फोटो : अमित रञ्जित
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.