www.tandavnews.com
Fact ~ In search of truth

बाढीपीडितलाई एकीकृत घर बनाउँछौँ : मुख्यमन्त्री गुरुङ

गलकोट ।

यही भदौ १७ गते राति आएको बाढीले उजाड बनाएको ढोरपाटन नगरपालिकाको बोबाङ गाउँको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थलगत निरीक्षण गरेका छन् । राहत सामग्रीसहित बाढीग्रस्त क्षेत्र ढोरपाटन नगरपालिका–९ बोबाङ पुग्नुभएका मुख्यमन्त्री गुरुङले बाढी पीडितका साथमा प्रदेश सरकार रहेको बताउँदै घरविहीनहरुलाई एकीकृत बस्ती निर्माण गर्ने गरी प्रदेश सरकार अगाडि बढ्ने बताए ।

बाढी पीडितको समस्या सुन्दै मुख्यमन्त्री गुरुङले पीडित परिवारले चाहे अनुसारको घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । “पीडितले चाहेअनुसारको घर निर्माणमा सङ्घ सरकारले प्रदान गर्ने रकममा प्रदेश सरकारले थप्नेछ”, मुख्यमन्त्री गुरुङले भने , “नगरपालिकाले जग्गा व्यवस्थापन गरे एकीकृत बस्ती निर्माण गर्दा सदाका लागि सुरक्षित हुन सकिन्छ ।”

Batas

गुरुङले नगरपालिकाले जग्गा व्यवस्थापन गरे सङ्घ र प्रदेश मिलेर एकीकृत बस्ती बसाल्ने प्रतिबद्धता व्यक्त गरे । उनले क्षति पुगेको विद्यालय, जलविद्युत् आयोजना, स्वास्थ्य एकाइ तथा सडक निर्माणमा जिल्लामा हालै स्थापना गरेको पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिने बताएका छन् । “प्रदेश सरकार तपाईंको दुःखमा साथ दिन यहाँ आएको हो, सक्दो सहयोग गर्छौं, बस्ती पुनःनिर्माण गर्ने गरी तत्कालै क्षतिपूर्तिको व्यवस्था हुन्छ”, गुरुङले भने। गुरुङसहित आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, बागलुङबाट निर्वाचित गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा, खिमविक्रम शाहीलगायत बाढीग्रस्त क्षेत्रमा पुगेका थिए ।

अत्यावश्यक राहत सामग्रीसहित सनाखत भएका मृतकका १३ परिवारलाई प्रतिपरिवार ५० हजार नगदका दरले राहतसमेत प्रदान गरेकाे मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री गुरुङले ४० परिवारलाई भाँडाकुँडा, टेन्ट, म्याटेस्ट सहितका अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेका थिए । अन्य पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत राहत उपलब्ध गराइने छ । हालसम्म भुजीखोलाको बाढीमा परी १५ जनाको मृत्यु भइसकेको छ भने अझै २३ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.