www.tandavnews.com
Fact ~ In search of truth

राप्तीमा १० वटा गोही छोडियो

चितवन ।

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो ।

निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा ती गोही छोडिएको हो । यस आर्थिक वर्षमा १०० गोही नदीमा छाड्ने लक्ष्य रहेको उनले जानकारी दिए । ती सबै गोही राप्तीमा छोडिँदै छ । गत वर्ष ५० गोही नदीमा छाडिएको थियो । राप्ती र नारायणी नदीमा गोहीले पारेका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा लग्ने गरिन्छ । ती अण्डा र प्रजनन केन्द्रका गोहीले पारेका अण्डा कोरलेर बच्चा हुर्काउने गरिन्छ । पाँच वर्षपछि ती बच्चा नदीमा छोडिँदै आएको छ । हाल छोडिएका गोही छ वर्ष उमेरका हुन् ।

Batas

सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्किएका योसहित एक हजार ५२५ गोही विभिन्न नदीमा छोडिएका छन् । सबैभन्दा बढी ८४५ गोही राप्तीमा छाडिसकिएको छ । नारायणीमा ३९९, कालिगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छाडिसकिएको छ ।

पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले त्यहाँ हुर्काएर नदीमा छोडिएका गोही भारततर्फ जाने गरेका कारण नेपालका नदीमा संख्या बढ्न सकेको छैन । त्रिवेणीमा रहेको गण्डक ब्यारेजबाट भारततर्फ गएका गोही फर्किएर आउन कठिन हुने हुँदा पनि समस्या हुने गरेको छ ।

संकटापन्न अवस्थामा रहेको घडियाल गोही मानव अतिक्रमणका कारण पनि समस्यामा परेको छ । माछा मार्न प्रयोग हुने तियारी जालमा बेरिएर बर्सेनि गोही मर्ने गरेका छन् । नदी प्रदूषित हुँदा गोहीलाई आहाराको अभाव र फोहरपानीका कारण यसको संख्या वृद्धिमा बाधा पर्ने गरेको उनको भनाइ छ । नदी छेउका शहर र उद्योगबाट उत्पादित फोहर नदीमा मिसिदा नदीमा जलीय पारिस्थितिकीय प्रणाली (वाटर इकोस्टिम) बिग्रिँदा गोही बचाउन कठिन भएको बरालले गुनासो गरे । मनोमानी ढंगले नदी खोलाबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्नाले पनि गोहीको बासस्थानमा खलल ल्याएको उनको भनाइ छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.