स्याङ्जा,
ताण्डव न्यूज ।
अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली बराबरको राष्ट्रवादी नेता कोही नभएको खानेपानी मन्त्री मणिचन्द्र थापाले बताएका छन् । स्याङ्जामा आज मंगलबार आयोजित नेकपा ओली समूहको कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री थापाले यस्तो बताएका हुन् ।
नेकपा विभाजनपछि प्रचण्ड समूहलाई छाडेर ओली समूहमा आएका उनले प्रधानमन्त्रीलाई घेराबन्दी गरेर कामै गर्न नदिएको दाबी गरे । प्रचण्ड यहाँसम्म आइपुग्दा कयौँ नेताहरुले छाडेर हिँडेको र छाड्न बाध्य बनाइएको टिप्पणी पनि उनले गरे।
कपालमा जेल लगाएर स्मार्ट देखिने प्रचण्डले काम भने भत्काउने र विगार्ने बाहेक अरु केही नजानेको उनको आरोप छ । उनले भने, ’अहिले पनि उहाँ (प्रचण्ड) कपालमा जेल नै लगाएर हिँड्नुहुन्छ, स्मार्ट भएर हिँड्नु हुन्छ तर उहाँ जहाँ जानुहुन्छ भत्काउनुहुन्छ ।’
खुलेआम रुपमा जहा गयो पार्टी विघटन गर्छु भन्ने प्रचण्डको अभिव्यक्ति वास्तविक भएको भन्दै मन्त्री थापाले पछिल्लो पटक राम्रो अवस्थामा रहेको एमालेमा घुसेर विभाजन ल्याइदिएको आरोप लगाए ।
तत्कालिन अवस्थामा राम्रो ढंगले चलेको एमालेमा आँफू समाहित भएर सोही पार्टीभित्रका असन्तुष्ट नेताहरुलाई साथ लिएर नेकपा विभाजन गरी प्रचण्डले भताभुङ्ग पारेको उनको आरोप छ ।
थापाले ओली बिरामी भएका बेला पार्टीबाट गलहत्याएर निकाल्ने योजनामा प्रचण्ड र माधव नेपाल लागेको दाबी गरे । मन्त्री थापाले ओलीसँग कुरा मिलेर निस्किने बित्तिकै प्रचण्डले कुरा फेरेर गडबड गरेको आरोप समेत लगाए ।
मन्त्री थापाले प्रधानमन्त्री ओली आफूमाथि घेराबन्दी भएपछि किचकिच गरिरहने नेताहरुलाई दिनुभन्दा दोस्रो पुस्तालाई छाड्न तयार हुँदा पनि नदिइएको उनले बताए । ’म पनि बुढो भएँ यस्तै किचकिचेलाई छाड्नु भन्दा, नगद उधारोलाई छाड्नु भन्दा, झलनाथलाई छाड्नु भन्दा दोस्रो पुस्तालाई छाड्छु प्रधानमन्त्रीले भनेकै हो’, थापाले भने, ’उहाँले दोस्रो पुस्तालाई पार्टी जिम्मा लगाउने बताएर दाहाल–नेपाल–खनाललाई काशी जाने कि पशुपति बस्ने भनेर सोध्नु पनि भएको हो। तर तीनै नेताहरुको ध्यान कुर्सी हल्लाउनेमै थियो ।
जनताले ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाएर पठाएको अवस्थामा तीन नेताले जनभावनाविपरीत हटाउन लागेपछि संसद नै विघटन गर्नुपरेको स्पष्टीकरण दिए।
प्रधानमन्त्री ओलीको भूमिकालाई लिएर भारत र चीन दुवै रिसाएको पनि उनले उल्लेख गरे। ’प्रधानमन्त्री ओलीबारेमा भारत र चीनलाई पनि चित्त बुझेको छैन’, उनले थपे, ’सानो देशले फुर्ती लाउने भनेका छन्। जति मोदीको हैसियत छ मेरो त्यतिकै हो अझ मैले पहिले राजनीति थालेको हुँ भनेर उहाँले कडा सन्देश दिनु भएको छ।’
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.