अर्जुन गाहा (सुशान्त),
पोखरा/ ताण्डव न्यूज ।
कोभिड कहरको सहजतासँगै बगर भाईखलक पोखराले स्व. रन्जित गुरुङको स्मृतिमा आयोजना गर्ने ‘एट ए साईड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’ को मिति सार्वजनिक गरेको छ ।
पोखरामा शनिबार बसेको बैठकबाट ‘चौथो स्व. रन्जित गुरुङ स्मृति तथा १० औं बगर भाईखलक एट ए साईड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’ (४० वर्ष माथी) को मिति आगामी फागुन २४ गते देखि २९ गतेलाई तय गरेको हो ।
उक्त प्रतियोगिता पोखरा महानगरपालिका १ स्थित पुरानो टुडिखेलमा ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम’ भन्ने उद्घोष सहित सञ्चालन गर्ने आयोजक संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले बताए ।
उनका अनुसार बिजेता टिमलाई १ लाख ११ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टिमले ५५ हजार ५ सय ५५ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै अन्तिम चारमा प्रवेश गर्ने दुई टिमलाई जनही १० हजार प्रदान गरिने गुरुङले बताए ।
उनले प्रतियोगिताबाट सर्वाेत्कृष्ट बन्ने खेलाडीलाई ट्रफी सहित १० हजारले पुरस्कृत गरिने बताउदै विधागत पुरस्कार तर्फ उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट गोलरक्षक बन्न सफल खेलाडीलाई ट्रफी सहित जनही नगद ५ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिए ।
त्यस्तै हरेक खेलबाट ‘म्यान अफ दि म्याच’ को घोषणा गर्दै एक खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने उनले बताए । ‘हरेक वर्ष प्रदान गर्दै आएको अनुशासित टिमको विधालाई यस वर्ष पनि निरन्तरता दिएका छौ, गुरुङले भने, ‘यो सँगै प्रतियोगितामा सहभागी सबैभन्दा जेष्ठ खेलाडीलाई सम्मान पनि गर्नेछौ ।’
‘तेस्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाईखलक अन्तर्राष्ट्रिय एट ए साईड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि टि–वर्गर भेट्रान्स जाउलाखेल काठमाडौंले जितेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति
नेपालका विभिन्न स्थानका टिम गरी करिब २५ टिम बढिको सहभागिता रहने सो प्रतियोगिता सम्पन्न गर्न संस्थाका अध्यक्ष दिल बहादुर गुरुङ संयोजक तथा उपाध्यक्ष तेज गुरुङ सह–संयोजकत्वमा १ सय ५ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ भने विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
टिम व्यवस्थापन उपसमितिमा ईश्वर गुरुङ ‘चन्द्र’लाई जिम्मा दिईएको छ । त्यस्तै आर्थिक समितिको जिम्मेवारी इश्वर गुरुङलाई र स्वयम्सेवक परिचालन समितिको संयोजकमा धन कुमार गुरुङ र सह–संयोजकमा खगेन्द्र गुरुङ रहेका छन् ।
यस्तै यूवा तथा सुरक्षा व्यवस्थापन समितिमा नारायण प्रसाद शर्मा, प्राथमिक उपचारमा बाबुराम पौडेल, सचिवालयमा याम गुरुङ, अतिथी सत्कारमा रमेश कुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्धमा मदन केसी, प्रचार–प्रसारमा मनकाजी गुरुङ, मञ्च व्यवस्थापनमा ओमकार गिरी, प्राविधिक तथा अनुशासनमा दिनेश कुमार श्रेष्ठ, र बसोबास व्यवस्थापनको संयोजकमा हिटलर घलेलाई जिम्मेवारी दिईएको छ ।
भाईखलकले २०६८ सालदेखी ४० वर्ष माथीका खेलाडीहरुलाई प्रौढ (भेट्रान्स) फुटबल प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.