www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको नारेश्वर तालमा एक करोड मुआब्जा वितरण

तनहुँ ।

व्यास नगरपालिका–१० मा निर्माण गर्न लागिएको नारेश्वर तालका लागि जग्गा अधिग्रहण गरिएका उपभोक्ताहरुलाई नगरपालिकाले एक करोड ३७ लाख ६० हजार ५०५ मुआब्जा वितरण गरेको छ ।

नगरपालिकाले ताल निर्माणका लागि करीब २५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । आन्तरिक एवं बाह्य पर्यटकलाई जलविहार गराउने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

Batas

गत वर्ष र यस वर्ष गरी २० जनालाई एक करोड ३७ लाख ६० हजार ५०५ वितरण गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । बढी मुआब्जा पाउनेमा १० लाखसम्म रहेको उजले बताए।

उपभोक्ताको २५ र ऐलेनी जग्गा करीब २० रोपनी गरी कूल ४५ रोपनी क्षेत्रफलमा ताल निर्माण गर्न लागिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड १५ लाख बजेट विनियोजन गरिसकेको बताइएको छ । देवीडाँडा पर्यटन प्रर्वद्धन विकास समिति र नारेश्वर ताल पर्यटन प्रर्वद्धन विकास समिति बनाएर वडालाई कृषि एग्रो टुरिजम क्षेत्र बनाउन लागेको हो ।

पर्यटन प्रर्वद्धनका लागि ऐतिहासिक पर्यटकीयस्थल देवीडाँडामा वनभोजस्थल र भ्यू टावर निर्माण गरेर फूलै फूलको बगैँचा बनाउने योजनाअनुरुप काम भइरहेको वडाध्यक्ष सापकोटाले बताए । ‘सो स्थानमा अहिले सार्वजनिक शौचालय र ट्रष्ट निर्माण गर्ने काम भइरहेको छ’, उनले भने, ‘उक्त स्थानबाट सिधै फुड ट्र्याक बनाएर खहरेस्थित छाङ्ग बाराही मन्दिर जोड्ने लक्ष्य रहेको छ ।’

४० फिट अग्लो उचाइको भ्यू टावर निर्माणका लागि डिपिआर तयार भइसकेको उल्लेख गर्दै वडाध्यक्ष सापकोटाले सो टावर निर्माणका लागि नगरपालिकाले १५ लाख बजेट समेत विनियोजन गरिसकेको जानकारी दिए ।

व्यासमार्ग हुँदै पर्यटकहरु छाङ्ग बाराही मन्दिरको अवलोकनपश्चात् निर्माण गरिएको सिँढी चढ्दै देवीडाँडा पुग्न सकिनेछ । देवीडाँडामा निर्माण गरिएको भ्यू टावरबाट दृश्य अवलोकनपश्चात् दुम्सीचौरस्थित कालिका मन्दिरको दर्शन गरी थालीडाँडा होमस्टेमा पुगेर बास बस्ने व्यवस्था मिलाइने व्यवस्था गर्न लागिएको बताइएको छ ।

भ्यू टावरबाट जिल्लाको अधिकांश भाग देख्न सकिन्छ । पहाडकी रानी नामले परिचित बन्दिपुर, दमौली, फराकचौर, गजौडे, मादी, दरबार, मिर्लुङकोट, क्यामिनकोट, मानुङकोट र गलेखामकोटलगायत स्थानको अवलोकन गर्न सकिन्छ ।

नारेश्वर तालमा जलविहार गराई तालघरे मार्ग हुँदै पृथ्वीराजमार्गमा पुगेर पर्यटकहरु गन्तव्यमा पुग्न सक्नेछन् । तालमा डुङ्गा चलाउने, तालको दायाँबायाँ कटेज तथा फुड ट्र्याक बनाउने कालिका जङ्गलमा रिसोर्ट निर्माण गर्नेलगायत संरचना निर्माण गरिनेछ । ‘ताल निर्माणको प्रक्रिया बल्ल सकिएको छ’, उनले भने ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.