www.tandavnews.com
Fact ~ In search of truth

देवघाटमा दोब्बर शव, दाउरा व्यवस्थापन जटिल

चितवन।

देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको संख्या दोब्बरभन्दा बढी भएको छ । संक्रमितको शव बागेश्वरीमा र अन्यको देवघाटमा अन्तिम संस्कार गरिँदै आएको छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार दैनिक सात÷आठवटा शव दाहसंस्कारका लागि आउने गरेकामा अहिले यो संख्या बढेर एकै दिन १९ सम्म पुगेको छ । यसअघि धेरै शव आएका दिन १० वटासम्म हुने गरेको भन्दै उनले एकाएक शव बढेपछि दाउराको व्यवस्थापन जटिल बन्ने बताए ।

Batas

कोरोनाबाट मृत्यु भएकाहरुको नेपाली सेनाको सहयोगमा बागेश्वरीस्थित नारायणी नदी किनारमा अन्तिम संस्कार गरिन्छ । कतिपयलाई जलाइन्छ भने कतिपयको धार्मिक विधिअनुसार पुर्ने गरिन्छ । जलाउनका लागि देवघाटबाटै दाउरा लैजाने गरिन्छ ।

घिमिरेको भनाइमा विगतका तुलनामा दोब्बरभन्दा बढी शव आउन थालेपछि थप दाउरा व्यवस्थापनको तयारी थालिएको छ । शवको व्यवस्थापनमा सहयोग गर्दै आएको कालीबहादुर गण भरतपुरका प्रमुख सेनानी विज्ञानराज खनालका अनुसार सङ्क्रमण भएका दैनिक तीन÷चारवटा शव सेनाले व्यवस्थापनमा सहयोग गर्दै आएको छ । अन्य शव देवघाटमा अन्त्येष्टि गरिन्छ ।

गत वर्ष यही समयमा पहिलो पटक लकडाउन हुँदा देवघाटमा शवको सङ्ख्या पनि घटेको थियो । उक्त समयमा दैनिक ५÷६ वटा मात्रै शव आउने गरेको बताइन्छ । तर यस पटक शवको सङ्ख्या बढ्नुलाई संक्रमणको कारण होम आइसोलेशनमा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

होम आइसोलेशनमा मृत्यु भएकाहरुको शव आफन्तले नै अन्त्येष्टि गर्ने गरेको हुन सक्ने देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले बताए ।
सामान्य अवस्थामा टाढाटाढाबाट समेत शव ल्याइने भए पनि लकडाउनका कारण अहिले अन्यत्रबाट शव देवघाट ल्याइँदैन ।

स्थानीय खोला नदीहरुमा नै अन्त्येष्टि गरिँदै आएको छ । देवघाट क्षेत्रमा वृद्धवृद्धाहरुको बसोबास धेरै भएकाले समितिले थोरै सङ्ख्यामा मात्रै मलामी आइदिन र अन्त्येष्टिस्थलबाट सोझै फर्किन आग्रह गर्दै आएको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.