www.tandavnews.com
Fact ~ In search of truth

प्रमको ६ बुँदै प्रस्ताव पूर्णतः एकताको पक्षमा, अन्यथा होइनः पूर्व स्वास्थ्यमन्त्री अधिकारी

पाेखरा
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ जारी गरेको आह्वानमा पार्टीलाई एकताबद्ध गराउन आफु ०७५ जेठ ३ को अवस्थामा फर्कने बताएपछि यसबारे मिश्रित प्रतिक्रिया आउन थालेका छन् । पछिल्लो समय सरकार र सत्ता टिकाउन मधेशवादी नेताहरुलाई भित्र्याएपछि पार्टी एकताबारे पुनः प्रयास गरिएको बताइएको छ ।

यसैबीच, प्रधानमन्त्रीको आह्वान आएपछि माधव–झलनाथ पक्षधरका नेताहरुले यसलाई अर्काे ‘खेल’कोरुपमा लिएको चर्चा चलेपछि पूर्वस्वास्थ्यमन्त्री एवं कास्की क्षेत्र नं. १ का सांसद खगराज अधिकारीले यसलाई अन्यथा नलिन आग्रह गरेका छन् । ‘प्रधानमन्त्री पार्टीलाई एक ढिक्का बनाउन चाहनुहुन्छ’ अधिकारीले भने ‘पार्टीलाई अझैपनि लथालिङ्ग बनाएर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउन चाहनेहरुले यसलाई आफ्नो ढंगले व्याख्या गर्नु गलत हो ।’

Batas

हालको अवस्थामा देशको प्रमुख राजनीतिक शक्ति एमाले नै भएको बताउँदै उनले स्वयं पनि एकताको पक्षमा रहेको उल्लेख गरे । पार्टी एकता नरुचाउने र भाँजो हाल्नेहरु एकता विरोधी हुन् भन्दै अधिकारीले भने ‘कम्युनिष्ट शक्ति र देश जोगाउन एमाले एक हुनैपर्छ ।’ प्रधानमन्त्रीद्वारा जारी ६ बुँदे प्रस्तावमा पार्टी एक बनाउने बाहेक अन्य कुनै स्वार्थ नरहेको उनले दाबी गरे ।

प्रधानमन्त्रीले आइतबार जारी गरेको विज्ञप्ती कुनै भ्रम नभई पार्टीलाई एकताको सूत्रमा बाँध्न प्रधानमन्त्री गम्भीर भएको संकेतकोरुपमा लिन उनले आग्रह गरे । ‘हिजो हामी सँगै थियौ, आज पनि रहनुपर्छ र भोली पनि हामी सँगै हुने हो’ सांसद अधिकारीले भने ‘पार्टीको कुरा गर्दा व्यक्तिगत स्वार्थलाई महत्व नदिई अघि बढ्नुको विकल्प छैन ।’

प्रधानमन्त्रीले मन्त्रीमण्डल गठन गरिरहँदा मन्त्रीको चर्चा चलेकोबारे प्रतिक्रिया दिँदै अधिकारीले भने ‘म मन्त्री हुनु वा नहुनु प्रमुख विषय हैन, मुख्य कुरा पार्टीलाई एक र शक्तिशाली बनाउने अभिभारा मेरो काँधमा पनि छ ।’ आफु सत्ता वा पदमा जान लालयित नभई पार्टी जोगाउनु पर्छ भन्ने मान्यतामा सुरुदेखि रहेको उनले स्पष्ट पारे ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.