www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकाद्वारा नेपाललाई १५ लाख खोप सहयोगः५० देखि ५४ वर्षका नागरिकलाई लगाइने

काठमाडौं ।

संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ ।

अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे।

हस्तान्तरणपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्राप्त खोप नेपाली नागरिकको जीवनरक्षाका लागि वरदान सावित हुने बताए । एक मात्रा मात्र लगाए पुग्ने सो खोप ५० देखि ५४ वर्षका नागरिकलाई प्राथमिकताका आधारमा लगाइने योजना रहेको उनले जानकारी दिए ।

अमेरिकाले यसअघिदेखि नै नेपाललाई कोरोनाको उपचार र रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिरहेकामा मन्त्री श्रेष्ठले आभार व्यक्त गरे । ‘कोरोनाको नियन्त्रणका लागि खोप नै उत्तम विकल्प हो, ७२ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप लगाउने गरी सरकारले आवश्यक तयारी गरेको छ’, उनले भने ।

पत्रकार सम्मेलनमा राजदूत बेरीले नेपाली जनताको जीवनरक्षाको एक मात्र उद्देश्यले खोप उपलब्ध गराइएको बताउँदै यसले नेपाललाई अहिलेको महामारीबाट बाहिर निस्कन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कोभ्याक्सको गौरवशाली सदस्यका रुपमा अमेरिकाले दुई अर्ब डलरको अनुदान उपलब्ध गराएको अवगत गराउँदै उनले त्यस सहयोगबाट न्यून तथा मध्यम आय भएका मुलुकमा खोप आपूर्ति हुने बताए । राजदूत बेरीले आजसम्म अमेरिकाले नेपालको कोभिड प्रतिकार्यका लागि सात करोड अमेरिकी डलरभन्दा बढी योगदान गरिसकेकोसमेत जानकारी दिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.