www.tandavnews.com
Fact ~ In search of truth

केन्द्रीय कारागारका ३ हजार २ सय १५ कैदीबन्दीलाई खोप

अच्युत रेग्मी
मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले बताए । नयाँ आउने कैदीबन्दीलाई भने अलग राखेर खोप लगाइने गरेको उनको भनाइ छ ।

३ हजार २ सय १५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र ३ जेल छन् । हाल सो जेलमा १ हजार ८ सय २२, भद्र जेलमा १ हजार ३८ र महिला जेलमा ३ सय ५५ कैदीबन्दी छन् । उक्त जेलमा १६ नाबालकसमेत छन् । कोरोनाको पहिलोचरणमा केन्द्रीय कारागारमा कोरोना संक्रमणका कारण ८ जनाको निधन भएपनि दोस्रोचरणको कोरोनाबाट कसैले पनि ज्यान नगुमाएको जेलर अधिकारीले बताए ।

काठमाडौंको डिल्लीबजारमा समेत अर्को जेल रहेका कारण महिला कैदीबन्दीलाई भने केन्द्रीय कारागारमा मात्र राखिँदै आएको छ । केन्द्रीय कारागार परिसरभित्र कैदीबन्दीको उपचारका लागि अस्पतालसमेत सञ्चालनमा छ ।

Batas

कुल ३० शड्ढया क्षमता रहेको उक्त अस्पतालमा छाला, मधुमेह, जन्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने र सुनिनेलगायतका रोगको उपचार हुँदै आएको छ । अदालतबाट मुद्दा फैसला भई कारागार सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रीय कारागारमा १ हजार ७ सय ८४ कैदी र १ हजार ४ सय ३१ बन्दी छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार देशभरका ७२ जिल्लामा ७४ कारागार छन् । काठमाडौं र दाङमा २÷२ कारागार छन् । भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् भने ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन् । यस्तै भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्रसमेत सञ्चालनमा छन् ।

हाल देशभर झण्डै ३० हजार कैदीबन्दी छन् । देशभर कारागारको क्षमता भने १६ हजारमात्र हो । पछिल्लो समय देशभर कैदीबन्दीको संख्या बढेसँगै सरकार नुवाकोट र बाँकेमा कारागार निर्माणमा जुटेको छ । १० हजार कैदीबन्दी राख्ने क्षमताका साथ निर्माण गर्न लागिएको नुवाकोटमा ५ सय ३५ रोपनी र बाँकेमा १० बिघा जग्गा लिएर कारागार निर्माणको काम अगाडि बढाइएको छ । नुवाकोटमा ७ हजार ५ सय र बाँकेमा ३ हजार कैदीबन्दी राख्न मिल्ने कारागार व्यवस्थापन विभागले जनाएको छ ।

सरकारले ३ महिनाभित्र केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोटमा निर्माण हुँदै गरेको कारागारमा सार्ने गरी गृहकार्यसमेत सुरु गरेको छ । केन्द्रीय कारागारका जेलर अधिकारीले ३ महिनाभित्र केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोट स्थानान्तरण गर्नका लागि गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, प्रमुख जिल्ला अधिकारी नुवाकोट र सुरक्षा निकायका प्रतिनिधि भवन निर्माणबारे अध्ययन, अवलोकन गरेर काठमाडौं फर्किसकेको बताए ।

सम्भाव्यता अध्ययनका क्रममा चाँडै कारागार भवन निर्माण सम्पन्न गर्न निर्देशन दिइएको उनको भनाइ थियो । केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोटमा स्थानान्तरण गरेसँगै उक्त स्थानलाई ‘म्युजियम’ बनाउने सरकारले लक्ष्य लिएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.