जलेश्वर
कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका (भिट्ठामोड) आजदेखि विधिवतरूपमा पुनः सञ्चालन गरिएको छ । गत वर्ष चैत ११ गतेदेखि बन्द रहेको भन्सार नाका भिट्ठामोड आज अपराह्न ४ः०० बजेपछि सञ्चालन गरिएको मुख्य भन्सार कार्यालयले जनाएको छ ।
दुवै देशको सहमतिपश्चात भन्सार नाका सञ्चालन भएसँगै आजैदेखि भारतीय ४ चक्के गाडी भन्सार कटाएर नेपाल प्रवेश पाउन थालेका छन् भने नेपाली गाडी पनि भारततर्फ जान थालेको भन्सार कार्यालयले जनाएको छ । त्यसैगरी २ पांग्रे गाडी पनि दुवैतर्फ निर्वाधरूपमा चल्न थालेका छन् ।
भारतीय ४ पांग्रे गाडी नेपाल प्रवेश गरेको ७२ घण्टा अघि चालक तथा सहचालकको कोरोना जाँच गराएको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । २ पांग्रेका हकमा सो व्यवस्था छैन । भन्सार खुलेसँगै सयौँको संख्यामा मोटरसाइकल दुवैतर्फ ओहोरदोहोर गरेका छन् । साथै कार, जीपजस्ता चारचक्के सवारीसाधन अहिले फाट्टफुट्ट मात्रै प्रवेश गरेका छन् ।
लामो समयदेखि जिल्लाको मुख्य भन्सार नाका बन्द रहँदा महोत्तरीवासीलगायत सो नाका भएर भारत जाने धनुषा, सिन्धुलीसहितका व्यक्तिलाई निकै कठिनाइ भोग्नुपरेको थियो ।
रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.