www.tandavnews.com
Fact ~ In search of truth

उपन्यास लेख्न चाहनेलाई गनेस पौडेलको १० टिप्स

पाेखरा
ताण्डव न्यूज । 

१) संसारमा हरेक दिन औसत ७ हजार किताब छापिन्छन् । तीमध्ये कतिलाई लेखक आफै बाहेक अरु कसैले पढ्दैनन् । नाम कमाउनका लागि वा पोज झार्नका लागि लेख्नेबारे सोच्नुभएको हो भने आजैबाट बन्द गर्नुस् ।

२) लेख्नु र खेल्नुलाई एकै सम्झिनुस् । जसरी हामी खेलाडी बन्नकै लागि वा राष्ट्रिय टिममा पर्नकै लागि खेल्दैनौँ लेख्नु पनि त्यस्तै हो । सबै खेलाडीले पहिला आफ्नो आनन्दको लागि खेल्छन् । पछि व्यावसायिक खेलाडी बन्ने नबन्ने भन्ने कुरा तिनले गर्ने अभ्यासको निरन्तरता, तिनमा अन्तरनिहित कौशल अनि तिनले पाउने अवसरमा भर पर्ने कुरा हुन् ।

Batas

३) यो कुरा मैले नलेखे अरु कसैलै लेख्दैनन् भनेर नसोच्नुस् । अरु लेखक छन् तिनले लेख्छन् । म समाज परिवर्तनका लागि वा अरुका लागि लेख्दैछु भनेर थेग्न नसकिने जिम्मेवारीको भारी काँधमा बोकेर नलेख्नुस् । आफ्नो स्वादको लागि लेख्नुस् । खेलाडीले आफ्नो ‘क्लब’ वा ‘देश’का लागि खेल्ने कुरा ‘व्यावसायिक’ कुरा हुन भनेर बझ्नुस् ।

४) बर्षको कम्तिमा २५÷३० वटा किताब पनि पढ्ने बानी छैन भने तपाईँले लेख्दै नलेख्नुस् । जसरी काम नगरी धन कमाउन वा तयारी नगरी परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सम्भव छैन, किताब नपढी गतिलो लेखक हुन सम्भव छैन । आफू किताबै नपढ्ने तर उसको किताब चाहिँ चर्चित भएको संसारको कुनै लेखक चिन्नुभएको छ भने त्यो अहिले वा पहिले प्रभावशाली पत्रकार थियो भनेर बुझ्नुस् ।

५) अरु धेरै मान्छेले मन पराएको कुनै उपन्यासलाई राम्रोसँग पढ्नुस् । पढेपछि तपाईँको मनमा ‘मैले लेखेको भए यो कथालाई अझ राम्रो तरिकाले भन्न सक्थेँ’ भन्ने लाग्छ भने तपाईमा लेखकीय गुण छ । स्टेफन किङले यस्तो सोच्ने मान्छेलाई लेख्न थालिहाल्ने सल्लाह दिन्छन् ।

६) ‘उपन्यास प्रबन्ध साहित्य हो । अर्थात राम्रो तयारीसाथ सबै पात्र, स्थान, घटना आदि सर्दामको जोहो गरेपछि मात्रै लेख्न बसिन्छ’ भन्ने मान्यता छ । तर त्यो मान्यता मात्रै हो । कथाका अरु घटनाको बारेमा पहिल्यै सोचेर लेख्न थाल्नुपर्छ भन्ने छैन । उपन्यास लेखन एउटा जिन्दगी बाँच्नुजस्तै पनि हुन सक्छ । भोलि के हुन्छ लेखकलाई पनि थाहा हुँदैन । जे हुन्छ रोचक हुन्छ ।

७) कथा वाचन गर्ने कुरा एउटा सामाजिक र पारिवारिक संस्कृति हो । त्यसको एउटा लय, सुर र ताल हुन्छ । तपाईँ केटाकेटी हुँदा घरमा जेष्ठ सदस्यले कथा सुनाएको स्मरण गर्नुहोस् र त्यही लयलाई समातेर आफ्नो कथा भन्नु होस् । यो नै तपाईको सर्वाधिक सुन्दर लेखकीय स्वर हुनसक्छ । युनिक स्वर ।

८) उपन्यासमा कुनै नयाँ र ठुलो विचार दिनुपर्छ भन्ने सोचेर नलेख्नुस् । तर आफूलाई जे लाग्छ इमान्दारीपूर्वक लेख्नुस् । तपाईँको इमान्दारी लेखनमा उत्रियो भने त्यो भन्दा यूनिक विचार विश्वले अर्को पाउनै सक्दैन ।

९) बर्षको कम्तिमा ६० दिन घरबाहिर बिताउनुस् । कथावाचन मान्छेको अवचेतन आकाँक्षा हो जसको जादूयी ढोका भ्रमणले मात्रै खुलाउन सक्छ । सक्नुहुन्छ भने यस्तो भ्रमण एकलै गर्नुस् । उपन्यास वर्णन साहित्य हो । पात्र, भूगोल, समय र घटनाको वर्णनबाटै संवेदनाको उकेरा लगाउने हो । भ्रमणले तपाईँमा मिहिन ढंगले वर्णन गर्ने सीप विकास गर्न मद्दत गर्छ ।

१०) मैले दिएको टिप्सलाई हावामा उडाइदिनोस् र लेख्न थाल्नुस् । नलेखी कोही लेखक भएको छैन । लेख्नुस् मात्रै लेख्नुस् । अरुका कुरा नसुन्नुस् ।

(गनेस पौडेल ‘पैताला’ उपन्यासका लेखक हुन् ।)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.