www.tandavnews.com
Fact ~ In search of truth

स्वर्गद्वारीः मृत्यु अघिकाे स्वर्ग

सुरज हजारे दाहाल ।

धार्मिक गन्तव्यको रुपमा ख्याती प्राप्त स्वर्गद्वारी आश्रम प्रदेश नं ५ को प्युठान जिल्लामा अवस्थित छ ।

पोखरादेखि ३१२ किमी दूरीमा रहेको स्वर्गद्वारी समुद्री सतहदेखि २१०० मिटरको उचाइमा पहाडको थुम्कोमा सजिएर बसेको छ । रोल्पा जिल्लाका बाल तपस्वी हंसानंद गिरीले विसं १९५२ मा १६०० रोपनी क्षेत्रफलको जग्गामा आश्रम स्थापना गरेका थिए ।

Batas

१२२ वर्ष अगाडि तपस्वी एवं आश्रमका संस्थापक हंसानंद गिरीले शुरु गरेको अखण्ड ज्वाला आजसम्म पनि बलिरहेको छ । आश्रममा धुनी, बलि बिनाको पुजा अर्चना र होम गरिँदै आएको छ ।

भनिन्छ, महाभारत कालमा पाण्डवहरु यहि स्वर्गद्वारीबाट स्वर्ग प्रस्थान गरेका थिए । यस आश्रमको मन्दिर हातामा सूर्य, गणेश, विष्णु र शिवको मूर्ति स्थापना गरिएको छ । हरेक दिन २४ जना बटुकहरुले आरती गर्छन् । नित्य पूजाको अलवा वेदपाठ, भागवत पाठ पनि गर्छन् । यहाँ परापूर्व कालमा ऋषिमुनिहरुले तपस्या गर्ने गरेको र भगवान ब्रह्माले यहाँ तपस्या गरेको भन्ने किंवदन्ती चलिआएको छ ।

आश्रमले गुरुकुल पनि सञ्चालन गरेको छ जहाँ निशुल्क धार्मिक शिक्षा जस्तै रुद्री, चण्डीदेखि वैदिक परम्परा सिकाइन्छ । देवशाला, वेदशाला, धर्मशाला एवं गौशाला भएकाले यसपावन भूमिलाई स्वर्गको ढोकाको रुपमा मानिएको हो । स्वर्गद्वारी मन्दिर परिसरबाट १५ मिनेटको दूरीमा महाप्रभु गुफा पनि रहेको छ । उक्त गुफाको द्वारलाई स्वर्ग जाने द्वार पनि भनिन्छ ।

स्वर्गद्वारी आश्रम यज्ञ आश्रम पनि हो किनकी यहाँ वर्षको सबै दिन अहेरात्र यज्ञ चलिरहन्छ । आश्रमभित्र गणेश पञ्चाङ, शिव पञ्चाङ्ग, देविपञ्चाङ, सुर्यपञ्चाङ्ग, विष्णुपञ्चाङ्ग गरी ५ कुण्डहरुमा वैदिकविधी पूर्वक दैनिक ३ पटक पूजा गरिन्छ ।

मौसम खुलेको दिन आश्रम परिसरबाट नीलगिरी, मनास्लु हिमालको मनमोहक दृश्य देखिन्छ । आश्रम आसपासको हरियाली वनमा वैशाख आसपास लालीगुराँस फुलेको देखिन्छ भने साल, काफल, चुत्रो, देवदार बाँस जस्ता पैदावरले आश्रमलाई हरभरा बनाएको छ । तसर्थ स्वर्गद्वारी धार्मिक साथै प्राकृतिक पर्यटनको संगम स्थल पनि हो ।

हरेक वर्ष ३ लाख सम्म स्वदेशी तथा बिदेशी पर्यटकहरुले आश्रम प्रवेश गर्ने गरेको तथ्यांक छ । नेपाली र भारतीय हिन्दूहरु विच प्रख्यात यस आश्रममा यो वर्षको पुसदेखि फागुनको मसान्तसम्ममा ८० हजार तीर्थ यात्रीहरुले अवलोकन गरेको रेकर्ड छ । स्वर्गद्वारी आश्रमका व्यवस्थापक बासुदेव भट्टराइका अनुसार बुद्धजयन्ती, साउन तथा पुष महिनामा बढी मात्रामा भारतीय तिर्थालुहरु आउँछन् । यस्तै आश्रमका संस्थापक हंसानंद गिरीको जन्मदिन श्रावण शुक्ल एकादशी तथा निधन भएको माघ शुक्ल चौथीका दिन पनि तीर्थालुहरुको भिड लाग्ने गर्छ ।

गत आर्थिक वर्षमा १ करोड ७० लाख रुपैयाँ भेटी संकलन भएको आश्रममा यो वर्ष तीर्थालु बढेकाले २ करोड रुपैयाँ भेटी संकलन हुने अनुमान आश्रमले गरेको छ । स्वर्गद्वारी आश्रम चलाउन वार्षिक खर्च ३ करोड रुपैयाँ लाग्छ । आश्रममा कुल १ सय ४० जना कर्मचारीहरु कार्यरत छन् । यो वर्ष ७५ जना विद्यार्थीहरु आश्रममा अध्ययनरत छन् । आश्रममा ४ सय २० गाई तथा गोरुहरु पालिएका छन् ।

गाईको दूध तथा घिउ दर्शनार्थीहरुलाई भोजनका साथ दिइन्छ र पूजामा समेत प्रयोग गरिन्छ । तिनीहरुको दैनिक खर्च ५५ हजार रुपैयाँ रहेको छ । आश्रमको खर्चको श्रोत नै दर्शानार्थीहरुले दान गरेका भेटी नै हो, भक्तजनले ५ सय ५५ देखि एक हजार ५५ रुपैयाँ सम्मको दान गरेर आफ्नो परिवारजनको नाममा रुद्री गर्ने चलन रहेको छ ।

विसं २०६० बाट आश्रमको नेतृत्व भागवानन्द गिरीले गर्दै आएका छन् । आश्रमकै आफ्नै १०५० विगाह जग्गा दाङमा रहेको छ जहाँ उत्पादन भएका अन्न तथा तरकारीहरु आश्रममा बास बस्ने तिर्थालुहरुलाई निशुल्क भोजनमा खुवाइने गरिन्छ । आश्रमको चार वर्ग किमी क्षेत्रभित्र भने कुनै पनि प्रकारको मदिरा तथा मासु बेच्न तथा खान प्रतिबन्ध लगाइए पनि आश्रम मुनिकै निजी होटलहरु लुकाएर बेच्ने गरेका छन् ।

२०६४ सालमा स्वर्गद्वारी पुग्ने ट्रयाक खोलिएको थियो तर बाटो साँघुरो भएकोले स्वर्गद्वारी नपुग्दै तिर्थालुको स्वर्गारोहण हुने गर्दथ्यो । तर यहि वर्ष ट्रयाकलाई चक्लाउने र अर्को वर्ष भित्र १४ किमी भिंग्रीदेखि स्वर्गद्वारी सडक खण्ड पिच भएपछि २० मिनेटमै आश्रम पुगेर सोही दिन फर्किन सक्नेछन् । मृत्यु पछि पुगिने भनिएको स्वर्ग वा नर्क छ छैन् कसैलाई थाहा छैन् तसर्थ यहि युगमा एकपटक स्वर्गद्वारीको भ्रमण गरौं ।

खर्च र बसाइ

पोखराबाट हरेक दिन दिउँसो २ बजे डिलक्स बस दाङको लागि छुट्छ । दुई बजेको बस भोलिपल्ट बिहान ६ बजे दाङको घोराही पुगेपछि स्वर्गद्वारीसम्म पुग्न अर्को बस चढ्नुपर्छ । सोही दिन नै स्वर्गद्वारी पुगिन्छ ।

स्वर्गद्वारी आश्रममा खान र बस्न निशुल्क र सशुल्क व्यवस्था रहेको छ भने वल्ड लिंकले निशुल्क वाइफाइ सेवा प्रदान गरेको छ । जाने आउने २ दिनको यातायात र खाना खर्च, दुइ दिनको स्वर्गद्वारीमा बसाइ सहित अधिकतम खर्च ६ हजार रुपैयाँ लाग्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.