www.tandavnews.com
Fact ~ In search of truth

छ महीनामा दुर्घटनामा परि ९१ को मृत्यु

 

चितवन ।

जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३४० घाईते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनाका कारण पूर्वपश्चिम लोकमार्गमा २०, नारायणगढ मुग्लिन सडकखण्डमा १५, पृथ्वी राजमार्गमा १७, भरतपुर महानगरपालिकाभित्र ११ र जिल्लाका अन्य भित्री सडकमा २८ को मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा बढी मोटरसाइकल सवार रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ ।

मोटरसाइकलमा सवार ३७ को मृत्यु भएको छ भने पैदलयात्री २२ को मृत्यु भएको छ । यस्तै बसमा सवार १७, साइकल यात्री छ जना, ट्रक ट्याङ्करमा सवार पाँच जना, जीप कारमा सवार तीन जना र अटोमा सवार एक जना रहेको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको यसै अवधिमा सवारी दुर्घटनाबाट ६१ को मृत्यु भएको थियो । जिल्लाभित्र भएका ११५ दुर्घटनामा २३० घाइते भएका थिए । गत आर्थिक वर्षमा जिल्लामा २७१ वटा सवारी दुर्घटना भएका थिए । जसमा १३२ को ज्यान गएको थियो भने ५२९ घाइते भएका थिए ।

कार्यालयले दिएको जानकारीअनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा दुर्घटना निकै बढेका हुन् । ग्रामीण सडकमा समेत दुर्घटना बढेपछि चुनौती थपिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार सवारी साधनको चापमा वृद्धि, युवापुस्ताले तीव्र गतिमा सवारी हाँक्नु, अटेर गरी मदिरा सेवन गरेर सवारी चलाउने जस्ता कारणले दुर्घटना बढेका हुन् ।

प्रहरीले टोलटोलमा ट्राफिक प्रहरी भन्ने अभियानका साथ जनचेतनामूलक कार्यक्रम गरिरहेको उनले बताए ।नारायणगढ मुग्लिन सडकमा ब्रेकरका कारण दुर्घटनामा कमी आए पनि बजारी क्षेत्रमा ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको उनले बताए ।

प्रहरीले ट्राफिक जनचेतनामूलक कार्यक्रम, सवारी मेकानिकल परीक्षण, चालकको स्वास्थ्य परीक्षण, ठाउँठाउँमा चेकजाँच, साँझमा मादक पदार्थ सेवन परीक्षणजस्ता कार्यक्रम गरिरहेको छ ।रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.