www.tandavnews.com
Fact ~ In search of truth

धावा बोल्ने ‘चट्टानसँग कुइनो लडाउनुभन्दा पनि खतरनाक’:मन्त्री बाँस्कोटा

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालन हुन लागेको बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रको विकल्प नभएको विचार व्यक्त गरे ।

उनले भने, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, कुनै पनि प्रकारको निरङ्कुशतन्त्र, अधिनायकतन्त्र वा तानाशाहीतन्त्र विकल्प होइनन् ।”मन्त्री बाँस्कोटाले लोकतन्त्र जनताको सर्वोपरि विषय भएको बताए ।

“रगतसँग साटिएको यो उपलब्धि कुनै पनि हालतमा गुम्दैन, हाम्रो पुर्खा र विरासत के हो, आगामी पाँच पुस्तालाई पनि सिकाउनुपर्दछ ।” उनले अँध्यारोबाट उज्यालोतर्फ लागेको मुलुकको यात्रामा धावा बोल्नेले ‘चट्टानसँग कुइनो लडाउनुभन्दा पनि खतरनाक’ खालको हुने समेत बताए ।

मन्त्री बाँस्कोटाले जनताको उपलब्धिप्रति कसैले प्रश्न उठाउनु अपराध हुने उल्लेख गर्दै प्रश्न उठाउनेलाई सबै नेपाली जनताले कुल्चिदिनुपर्ने धारणा राखे । उनले भने, “इतिहासमा कसैले कुँडाकर्कट बनाइसकेका, इतिहासमा अयोग्य तत्वको केही चलखेल जस्तो देखिन्छ, कथित सल्बलाउन खोजेकालाई जनताले नै जवाफ दिनेछन् ।” रगतसँग साटिएको उपलब्धिसँग खेलबाड गर्ने कोसिस भएकोप्रति सजग रहनुपर्ने उनले सुझाव दिए ।

मन्त्री बाँस्कोटाले यो व्यवस्था कुनै नेता वा कुनै व्यवस्थामा जन्मेकाले नल्याएको बताउँदै विकास, निर्माण, परिवर्तन, जागरण, उपलब्धि, विरता, धैर्यता र सपनाका दृष्टान्त देखाएर संविधान दिवस भव्यताका साथ मनाउन आग्रह गरे ।

“संविधान दिवस भव्यताका साथ मनाउनुपर्छ, हामीले ऐतिहासिक जनक्रान्तिका साथ लडेर ल्याएको व्यवस्था हो यो, उपलब्धि रक्षा तथा समृद्ध नेपालको यात्रामा सफलताका निम्ति सबै जनताको सफलताको शुभकामना चाहिन्छ”, उनले भने ।

उनले निर्धारित समयमै खानेपानी आयोजना सम्पन्न गर्न सरोकारवालालाई निर्देशनसमेत दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.