अर्जुन कार्की,
ताण्डव न्यूज ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले भवन निर्माणको अपुग रकम संकलनको लागि असोज पहिलो साता ‘धौलागिरी फेस्टिबल’ आयोजना गर्ने भएको छ ।
महासंघको तीन तलाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै अपुग रकम संकलनको असोज ३ र ४ गते बागलुङ बजारमा विभिन्न साँस्कृतिक, सांगितीक, साहित्यिक र बहसमुलक कार्यक्रम सहित ‘धौलागिरी फेस्टिबल’ गरिने अध्यक्ष दिल शिरीषले बताए ।
महासंघको तीन तले भवनको दुई तल सम्पन्न भई अन्तिम तलामा अत्याधुनिक सभाहल निर्माण सकिन लागे पनि भवनका लागि आश्यक रकम अझै अपुग भएकाले आर्थिक संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष शिरीषले जानकारी दिए । महासंघले कुल १ करोड ३० लाख रुपैयाँको लागत अनुमान सहित निर्माण थालिएको भवन एक करोड रुपैयाँको लागत आसपासमै सक्ने तयारी गरेको छ ।
महासंघले भवन निर्माण सुरुवातदेखि ‘हामी सवैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियान संचालन गरि स्वतस्फुर्त रुपमा ८५ लाख भन्दा बढी रकम संकलन गरि सकेको पत्रकार महासंघ शाखा बागलुङका कोषाध्यक्ष विजय रानाले बताए । भवन निर्माणको लागि अझै सहयोग आईरहेको कोषाध्यक्ष रानाले जानकारी दिए ।
धौलागिरी फेस्टिबलमा धौलागिरीका परम्परागत नाँच, धौलागिरीका कलाकारका मौलिक गीत, साहित्य, जिल्लाको सम्भावना र समसामयिक विषयमा बहस पनि समावेश हुने अध्यक्ष शिरीषले बताए । यस कार्यक्रमको अभियानबाट महासंघको भवन निर्माणलाई पूर्णता दिनुका साथै महासंघमा आधुनिक सूचना केन्द्र सञ्चालन र पत्रकार कल्याणकारी कोष पनि बृद्धि गर्ने लक्ष्य राखिएको अध्यक्ष शिरीषले बताए ।
फेस्टिबलमा दुई दिन फरक–फरक टिकट प्रणाली लागु गरेर १५ लाख रुपैयाँ भन्दा बढी रकम संकलन गर्नेगरि कार्यक्रम तय गरिएको महासघंका सचिव राम थापा ‘अविरल’ले जानकारी दिए । ‘यो कार्यक्रम यहाँ आयोजना हुने महोत्सव, महायज्ञ जस्तो होइन,’ सचिव थापाले भने, ‘कार्यक्रम मार्फत रकम संकलन मात्र पनि होइन, राम्रो स्वाद, सँस्कृति, शैली र सन्देश पस्कने पनि हाम्रो प्रयत्न हो ।’
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.