www.tandavnews.com
Fact ~ In search of truth

‘फुटबल खेल्दिन, अब खेलाउने हो’

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज । 

नेपाली फुटबलको इतिहासमा पोखरेली खेलाडीहरुको नाम सायदै जोडिएको हुन्छ । विष्णु गुरुङ पनि नेपाली फुटबल जगतमा स्थापित एक नाम हो । तनहुँ बन्दिपुरका फुटबलर गुरुङले आफ्नो करियर पोखराको चर्चित सहारा एकेडेमी देखि औपचारिक सुरु गरेका थिए ।

करिब एक दशक फुटबल क्षेत्रमै बिताएका उनले ७ बर्ष रुस्लान थ्रिस्टारमै बिताए । बिभिन्न क्बलका उमेर समूहका खेलाडीहरुलाई प्रशिक्षण दिइसकेका उनी बिभिन्न प्रतियोगिता र क्लबका मुख्य प्रशिक्षकको रुपमा नियुक्त समेत भइसकेका छन् । ‘खेल खेल्ने होइन, अब खेलाउने हो’ गुरुङ भन्छन् । उनी पोखराको पुरानो क्लब सहारा क्लबमा एक बर्षका लागि मुख्य प्रशिक्षकका रुपमा नियुक्ति भएका छन् । त्यस्तै उनी नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी समेत पाएका छन् ।

Batas

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको फुटसल कमिटिले गत आइतबार विष्णुलाई जिम्मेवारी सुम्पेको थियो भने सहायक प्रशिक्षकका रुपमा गौरव बस्नेत नियुक्त भएका थिए । गुरुङले आफ्नो करियर प्रशिक्षक तर्फ मोडेको बताउँदै पहिलो प्राथमिकता खेल खेलाउनेमै दिने बताए । आफू खेल्नमा रोक लगाउने बताउँदै उनले गुणस्तरीय खेलाडी उत्पादनमा ध्यान दिने उल्लेख गरे ।

‘अबको दुई महिना क्याम्पको प्रशिक्षण मै ब्यस्त हुन्छु,’ उनले भने ‘मेरो प्लानिङ छ, खेलाडीहरुको कमजोरीपनलाई व्यक्तिगत रुपमा हल गर्नुपर्ने हुन्छ । त्यसैले म अब नितान्त खेलाडीहरुसँगै रहन्छु ।’ उनले आगामी आइतबारदेखि बन्द प्रशिक्षण सुरु भएको जानकारी दिए । उनका अनुसार पहिलो चरणको बन्द प्रशिक्षणमा ३७ सदस्यीय प्रारम्भिक टोली रहेको छ । उनले क्रमश ३०, २५, २० गर्दै आगामी २० गतेसम्म अन्तिम १४ सदस्यीय टिमको घोषणा गर्ने बताए ।

छनौट हुने उक्त टोलीले इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेल खेल्नेछन् । सेन्ट्रल र साउथ जोन अन्र्तगत छनौटमा ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’ मा नेपाल रहेको जानकारी दिँदै नेपालले पहिलो खेल ताजिकिस्तानसँग अक्टोवर २३ मा खेल्ने बताए ।

फुटबल यात्रा

उमेरले भर्खर बत्तिस टेकेका बिष्णु गुरुङ १५ बर्षको रहँदा सहारा एकेडेमीबाट औपचारिक प्रशिक्षण सुरु गरेका थिए । पछिल्लो समय उनी सहाराको प्रोडक्टको रुपमा मात्र परिचित छैनन् ।

पौरखी पोखरेली प्रशिक्षकको रुपमा पनि चिनिन्छन् । औपचारिक रुपमै सन्यास नलिएपनि उनले खेल खेल्नबाट भने बिट मार्ने तरखरमा छन् । बाँकी करियर प्रशिक्षणमै बिताउने लक्ष्य रहेको सुनाउछन् उनी ।

सहाराको प्रशिक्षणबाट खेलाडीको रुपमा उदाएका उनी सहारा क्लबबाटै डेब्यु गरे । जिल्ला, क्षेत्र हुँदै उनी ए डिभिजन क्लबमा अनुबन्धित हुने मौका पाए । त्यसो त उनले बिदेशी मैदानमा समेत आफ्नो सानदार खेल प्रर्दशन गरिसकेका छन् ।

उनका अनुसार मंगोलियामा सम्पन्न एएफसी च्याम्पियनसिप, भुटानमा किङ्स कप, मलेसियामा एएफ्सी कपमा उनले थ्रिस्टारको प्रतिनिधित्व गर्दै खेलिसकेका छन् ।

उनले नेपालमा हुने बिभिन्न तहका प्रतियोगितामा धेरै क्लबहरुबाट प्रतिनिधित्व गरेर उपाधि जिताइसकेका छन् । सहाराको पहिलो ब्याचका खेलाडी विष्णु २०६३ सालमा थ्री स्टार क्लबमा आबद्ध भएका थिए । उनले पहिलो सिजनमा अवसर विरलै पाए ।

पहिलो पटक ‘ए’ डिभिजन क्लबमा जोडिएका उनले त्यस समय धेरै कुरा अनुभब बटुले । केही समयपछि नेपालको लिग बन्द भएपछि क्लबहरुले खेलाडी अनुबन्धन गरेनन् । विष्णु रोजगारीका लागि इराक हानिए ।

२ बर्ष पश्चात नेपालमा फेरी लिग सुरु भएको चाल पाएपछि फुटबलको नशा लागेर नेपाल फर्किए । नेपाल फर्किए र २०६६ सालको लिगमा उनी फेरी थ्री स्टारकै रोजाइमा परे । घरेलु फुटबलमा एकक्षत्र राज गरिरहेको पुलिसको अगाडि थ्रीस्टार उपबिजेता बन्यो ।

अर्को सिजनको लिगमा क्लबको प्रदर्शन झनै फितलो बन्दै टोलीको चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो । तेस्रो पटकको लिगमा भने थ्रिस्टारले उपाधि उचाल्न सफल रह्यो । उक्त क्लबको समर्थक थपिदै गए सँगसँगै खेल पनि सुधार्दै लग्यो । त्यसपछि मोफसलका प्रतियोगिता र अन्य केहि अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत थ्री स्टार उपाधिको हकदार समेत बन्यो । यसरी गुरुङले ७ बर्ष सोही क्लबमै र १ बर्ष संकटा क्लबमा बिताए ।

विष्णुले पनि अन्य क्लबबाट केही प्रतियोगिता खेले । तर, उनले यससमयमा आफ्नो फुटबलप्रतिको लगावलाई प्रशिक्षक बन्दै पूरा गर्ने जमर्को गरे । ७३ सालमै उनले एएफसी ‘सी’ कोचिङ सर्टिफिकेट कोर्ष लिए र उत्कृष्ट नतिजा ल्याए ।

कोर्ष गरेको केही महिनामै उनले ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबको टोलीलाई प्रशिक्षण दिए । प्रशिक्षणमा राम्रो सम्भावना देखेपछि एएफसीले नै उनलाई चाडैं ‘बी’ लाइसेन्स गराउन एन्फालाई सिफारिस गर्यो । उनले त्यसैबर्ष ‘बी’ लाइसेन्स पनि राम्रो अंक ल्याएर पास गरे । सामान्यतया ‘सी’ कोर्ष गरेको २ वर्षपछि प्रशिक्षकको क्रियाकलाप हेरेर माथिल्लो स्तरको लागि सिफारिस गर्ने प्रावधान छ ।

फुटबलसँगै विष्णुले फुटसल प्रशिक्षक कोर्ष पनि गरिसकेका छन् । यसअघि नेपालको राष्ट्रिय टोलीको सहायक प्रशिक्षक पनि बनेका उनी गत आइतबार मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अब उनी फेरी खेल खेल्ने पक्षमा छैनन् । एकेडेमीका खेलाडीहरुलाई राष्ट्रिय टोलीसम्मको बाटो देखाउने पक्षमा उभिदै प्रशिक्षणमा करियर तताउन जाग्दैछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.