ताण्डव संवाददाता
पोखरा, माघ २९
पोखरामा मञ्चन हुन लागेको नाटक ‘सिरुमारानी’को सम्पुर्ण तयारी पूरा भएको छ । नाटक पोखरा ग्रैह्रापाटनमा रहेको प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटरमा मञ्चन हुनेछ ।
यो नाटक मञ्चन सँगै थियटर हलमा बसेर नाटक हेर्ने पोखरेलीको वर्षाेदेखिको सपना पूरा हुनेछ । फागुन २ गते थियटरको उद्घाटनसँगै नाटक मञ्चन हुनेछ । थियटरको उद्घाटन कास्की क्षेत्र नं. २ का सांसद रवीन्द्र अधिकारीले गर्ने कार्यक्रम तय भएको थियटर अध्यक्ष परिवर्तनले जनाए ।
नाटक फागुन २ गतेबाट फागुन १५ गतेसम्म हरेक साँझ पौने पाँच बजेबाट मञ्चन हुनेछ । शनिबार र विदाको दिन दिउँसो १ बजेबाट अतिरिक्त सो समेत हुनेछ । नाटक हेर्न तीन सय र पाँच सय दरको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा एक सय दरको टिकट लाग्नेछ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठको लेखनको नाटक ‘सिरुमारानी’मा पोखराका नयाँ तथा पुराना रंगकर्मीको अभिनय रहनेछ ।
नाटकमा पोखरेली रंगमञ्चमा चिनिसकेका प्रकाश घिमिरे, माओत्से गुरुङ, विष्णु गौतम, धनबहादुर गायकको अभिनयले पोखरेली रगंमञ्चलाई माया गर्नेहरु थप उत्साहित बन्ने अपेक्षा गरिएको छ ।
विभिन्न नाटक मार्फत रंगमञ्चमा देखिसकेका दिल गुरुङ र रमेशबाबु तिमिल्सिना तथा रंगमञ्चमा आशा लाग्दो प्रतिभा बनेर उदाउन खोजेका अन्जू दाहाल, लक्ष्मण डुम्रे, बबिता मल्ल, प्रसूना भण्डारी, सीमा गुरुङ, सचिन गिरी, शरद भण्डारी, ध्रुव पौडेल, अविराज विसी, सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेल लगायतका कलाकारको अभिनयले पोखरेली रगंमञ्चमा नयाँ तरगं ल्याउने दावी थियटरको छ । थियटरका अध्यक्ष परिवर्तनको संयोजनमा मञ्चन हुने नाटकको निर्देशन सोमनाथ खनालले गर्दैछन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।