www.tandavnews.com
Fact ~ In search of truth

चर्चामा चोलेन्द्र पौडेलको रिमेक गीत ‘पछ्यौरीको छेउ’

सन्तोष सुवेदी

पोखरा, माघ २९ ।

‘पछ्यौरीको छेउ, मेरो माया त्यही छेउमा राखेर गाँठो पारिदेउ…।’

Batas

यो आजभन्दा १२ वर्षअघि बजारमा आएको गीत हो । लोकदोहोरी गायक चोलेन्द्र पौडेल, राजु परियार र बिमाकुमारी दुराको स्वरमा रहेको गीतलाई उबेला निकै रुचाइएको थियो । सोही गीतलाई अहिले नयाँ डिजिटल प्रविधिमा फेरी रेकर्ड गरिएको छ । गायक पौडेलले यो गीतलाई ‘रिमेकिङ’ गरेर बजारमा ल्याएका छन् । उक्त गीत अहिले चर्चामा रहेको छ ।

‘सबैले मन पराएको गीत अहिलेका नयाँ पुस्तालाई सुनाउनको लागि पुन रेकर्ड गराएको हो,’ पौडेलले गीतको बारेमा भने, ‘त्यो बेला चाहेको जस्तो राम्रो भिडियो बनाउन सकिएन् । यो पटक गीतलाई अफ बिटमा उठान गरेर नयाँपन दिन खोजेका हौं ।’ पौडेललाई यो पटक देवी घर्ती मगरले स्वरमा साथ दिएकी छन् ।

गीतमा शिव हमालले शब्द लेखेका छन् भने पौडेलको लय रहेको छ । विन्ध्यवासिनी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको गीत अहिले मेला–महोत्सव देखि दोहोरी साँझमा बढी गुन्जिने गर्छ । ‘बजारमा आएको छोटो समयमा नै दर्शक श्रोताले निकै रुचाउनुभएको छ,’ उनले भने, ‘ठाउँ–ठाउँबाट फोन गरेर कतिपय श्रोताले गीत नै सुनाउने गर्नुहुन्छ ।’

पौडेलले योगीतसँगै केही महिनाअघि सालैजो गीत पनि बजारमा ल्याएका छन् । एकसाथ दुई गीत बजारमा ल्याएका पौडेल अहिले फुर्सदिला छैनन् । देशभरमा भए गरेका मेलामहोत्सवमा भ्याई नभ्याई पौडेलले कलाकार भएपछि हरेक विधाका गीत गाउन सक्नुपर्छ भन्ने उद्देश्यले नै सालैजो गीत रेकर्ड गराएको सुनाए ।

‘मैले सालैजोमा नयाँ दिन खोजेको छुँ,’ उनले भने, ‘सालैजोमा दोहोरी हुँदैन् भनिन्छ । सालैजामा पुरुषले गाउने र महिलाले छोपेको पाइन्छ । यसमा दोहोरीको रस दिन खोजिएको छ ।’ गाउँहरुमा सालैजोमा दोहोरी गाउने गरेको पाइएरनै रेकर्ड गराएको पौडेलले प्रस्टाए । ‘दोहोरीले गीतमा मिठास दिएको छ,’ उनले भने, ‘प्रतिक्रिया राम्रो पाएको छुँ ।’

पौडेल र मन्जु बिकको स्वरमा तयार भएको सालैजो गीत ‘बनैको चरी’ को संकलन पशुपति शर्माले गरेका हुन् ।

दुइवटै गीतबाट सफलता पाएका पौडेलका यसअघिका गीत पनि सफल नै छन् । २०५६ सालमा पहिलो पटक ‘जाम डाँडै काटेर’ गीत रेकर्ड गराएर साँगीतिक यात्रा तय गरेका पौडेलका ‘सेतीमाथि पुल, पानी मुनीमुनी, जाम झोला बोकेर, गैरा गाउँकी बाटुली, काली मर्न पर्छ, चड्यो चड्यो जवानी, हुन्छ भने हुन्छ भने, चौपट्टै मन प¥यो’ लगायतका थुप्रै गीत चर्चित रहे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव समेत रहेका पौडेल ‘पोखराको भलाम’ नामक पञ्चेबाजा गीतको तयारीमा जुटेको सुनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.